बहुमत पुर्‍याउने दाउमा ओली, मोर्चा भत्काउने प्रयासमा विपक्षी

थाहा खबर

काठमाडौँ

रमेश पराजुली

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद‍्मा विश्वासको मत लिने तयारीमा छन्। विपक्षी मोर्चाले तत्काल अविश्वास प्रस्ताव ल्याउन नसक्ने उनको बुझाइ छ। त्यसैले पनि उनी संसद‍्मा यसलाई 'फेस' गर्न अग्रसर छन्।

 

 

ओलीले पुस ५ गते संसद् भंग गरेर प्रतिगामी कदम चालेपछि प्रतिपक्षी नेपाली कांग्रेसलगायत नेकपा रहँदैका दाहाल-नेपाल खेमा र जनता समाजवादी पार्टी (जसपा) मिलेर ओलीको बहिर्गमनको अनेकन् प्रयास गरे। तर ओलीले राजीनामा दिएनन्। बरू विस्तारै उनले जसपाको एक खेमालाई आफूतिर तान्‍न सफल भए। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ओलीलाई साथ दिएपछि उनी बलियो बन्‍न थाले। जसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नेकपा माओवादी र कांग्रेसको हिम्मत जुट्न सकेन। 

विपक्षीको मोर्चामा फरक पार्टीको अभ्यास गरिरहेको एमालेकै नेता माधव कुमार नेपाल पनि सामेल छन्। नेता नेपालले बुधबार माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुरसँग हात्तीवनमा पुगेर भेटवार्ता गरे। साविक नेकपामा रहँदै ओलीको राजीनामा माग्दै आएको नेता नेपालले कुनै हालतमा ओलीविरुद्ध जाने र समर्थन गर्न नसक्ने बताइसकेको छ। 

पार्टी एकतापछि आफ्नो समूहलाई बाइपास गरेर बढेका ओली अब कसरी अगाडि बढ्छन् भन्ने कुनै योजना सार्वजनिक छैनन्।  ओलीलाई हटाउन आफ्नो समूहका सांसदले विश्वासकोे मत नपुग्नेगरी सामूहिक राजीनामा दिने नेपाल समूह तयारीमा छ। अथवा संसद् बैठकमा अनुपस्थित हुने भन्ने विषयमा समेत यो समूह छलफलरत छ। जसबाट के गर्ने भन्ने कुनै निर्णय अहिलेसम्म हुन सकेको छैन। ओलीको विरोधमा उत्रिरहेको नेपाल समूह अहिले धर्मसंकटमा छ।  

त्यसो त नेपाल समूहलाई कारवाहीको डण्डा चलाइसकेका ओलीले जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको मत पाउने सुनिश्चिताका साथ विश्वासको मत लिन लागेका हुन्। तर नेपाल समूहले बाइपास गरेर कांग्रेसले पनि समर्थन नगरे ओलीले विश्वासको मत गुमाउनेछन्।  

प्रकाशित मिति: : 2021-05-06 21:24:00

प्रतिकृया दिनुहोस्