सिकारको लागि एउटा सिकारी जंगल छिरे, तर तीन दिनसम्म उनले कुनै जनावर सिकार गर्न सकेनन्। जंगलभित्र निकै कुदे, कहिँकतै कुनै जनावर भेटिनु त के, खानका लागि कन्दमूल र फलफूल पनि भेटेनन्।
भोकले उनको प्राणपखेरु उड्न लागिसकेको थियो। अब त शरीर नै रहन्न कि भन्ने निराशामा उनी पुगिसकेका थिए।
तेस्रो दिन साँझतिर जंगलको एउटा छेउमा स्याउको रूख देखे। रूखमा चढेर १० दाना स्याउ टिपे। एक दाना स्याउ जब उनले खाए, प्राण फिर्ता भएको महसुस गरे। अहो भावले भरिए, एक दाना स्याउले आफ्नो प्राण बचाएकोमा धन्यधन्य भए।
पहिलो, एक दाना स्याउमै आफ्नो जीवन देखे। भगवान, अस्तित्व, परमात्मा सबै एक दाना स्याउमै अनुभूति गरे। दोस्रो, तेस्रो दाना पनि खाए। अब उनको भोक मेटियो, खुसी भए।
जब छैठौं दाना हातमा लिए, उनले टोकेर फ्याँके। अब मिठास र रस केही बाँकी देखेनन्। किनकी उनी अघासकेका थिए। एकएक गर्दै दशौं दानामा आइपुग्दा उनमा सिकायत भाव नै आयो। फालिदिए बाँकी स्याउलाई भुईँमा फाले र आफ्नो बाटो लागे।
यस्तो बोध कथा ती सिकारीको जीवनमा मात्र होइन, हाम्रो जीवनमा पनि धेरैपटक आएको छ। आजको कोरोना कहरमा एउटा सानो मद्दत पनि पहिलो एक दाना स्याउमा रहेको महत्त्व जस्तै जीवनदायिनी व्यक्ति र वस्तु बन्न सक्दछन्।