कसरी अगाडि बढ्ला वैशाख २७ पछिको राजनीति ? धर्मसंकटमा माधव नेपाल !

लोकान्तर

काठमाडौँ
सुशील पन्त

राजनीतिक अन्योलका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन अग्रसरता लिएपछि वैशाख २७ गतेपछिको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्ला ? यतिबेला आम नागरिकमा चासो र कौतुहलता छ । 

वैशाख १९ गते पहिला स्थायी कमिटी र पछि मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन चाहेको सुनाए । मुलुकलाई लामो समय अन्योलमा राख्न नहुने भन्दै ओलीले संसद्मा विश्वासको मत लिने कुरा मन्त्रिपरिषद् बैठकमा राखेका थिए । 

आइतवार अपराह्न मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओलीले संसद्को अधिवेशन बोलाउने पत्रसहित राष्ट्रपति विद्या भण्डारीलाई भेटे । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले वैशाख २७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरिन् । 

वैशाख २७ गते संसद्मा हुने मत विभाजनले देशको भावी राजनीतिलाई मार्गदर्शन गर्नेछ । अध्यक्ष ओलीसँग रहने/नरहने भनेर सोही दिन एमालेको माधव नेपाल पक्षको फाइनल परीक्षा पनि हुनेछ । 

प्लान ‘बी’ सहित ओली

आफ्नो पक्षमा बहुमत आउने सम्भावना क्षीण रहेपनि ओलीले संसद् फेस गर्दैछन् । संसद्मा बहुमत आए पनि नआएपनि ओली आफ्नो रोडम्यापमा प्रस्ट छन् । बहुमत आए सरकार चलाउने र बहुमत गुमे चुनावको तयारीमा लाग्ने ओलीको रणनीति छ । 

‘प्रधानमन्त्रीज्यूको पक्षमा बहुमत पुग्छ भन्ने नै हाम्रो विश्वास छ, विश्वासको मत प्राप्त भएन भने संविधानको धारा ७६ (३) अनुसारको सरकार बनाउँछौं,’ एमाले सांसद एवं पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले लोकान्तरसँग भने । 

प्रकाशित मिति: : 2021-05-05 15:23:00

प्रतिकृया दिनुहोस्