दिनेश गौतम
पशुपतिको विद्युतीय शवदाहगृहमा कोभिडबाट मृत्यु भएकालाई सोमबार बिहानैदेखि जलाइँदै थियो । बाहिर मृतकका आफन्तहरूको चीत्कार उत्तिकै सुनिन्थ्यो । आफन्तले मृतकको अनुहार पनि हेर्न पाउँदैनन्, दागबत्ती दिन त परको कुरा । बाहिरबाटै फूलमाला र पीताम्बर अर्पिन्छन् । अनि शव जलाउन सेनाको टोलीले विद्युतीय शवदाहगृहभित्र लैजान्छ ।
अब मृतकका आफन्तलाई अर्को समस्या जन्मन्छ । किरिया कहाँ बसेर गर्ने ? घर हुनेले त घरमै गर्छन् । कोठामा बस्ने र बाहिर जिल्लामा घर भएकाले के गर्ने ? विद्युतीय शवदाहगृहनजिकै छ पशुपति विकास कोषको ‘किरियापुत्री सेवा’ भवन ।
‘कोभिडबाट मृत्यु भएकाको परिवारलाई त पशुपतिमा बसेर किरिया गर्न दिँदैनन् रे !,’ विद्युतीय शवदाहगृहअगाडि मृतकका आफन्त भन्दै थिए । ती व्यक्तिले थपे, ‘हाम्रो त दक्षिणकाली हो । यहाँ नदिने रहेछ । अब घरमै जाने हो,’ उनको टोली किरियाका लागि दक्षिणकाली घरतर्फ लाग्यो ।
पशुपतिको किरियापुत्री सेवा भवन । लहरै छन् कोठाहरू । केही कोठामा ननकोभिडका किरियापुत्री बसेका छन् । केही कोठा खाली नै देखिन्थे । तर, भवनबाहिर भने कोभिडका मृतकका आफन्त किरिया घरको खोजीमा थिए । एकातिर आफन्त गुमाउनुको पीडा । अर्कोतिर किरिया गर्न कोठा छैन । पीडामाथि थप पीडा ।