'छोरो त मेरो कोरोनाले लगिहाल्यो नि!'

सेतोपाटी

सुर्खेत

ससुरा र बुहारी अस्पतालबाहिर कुरिरहेका छन्।

ससुरा प्रतीक्षालयको एउटा कुर्सीमा बसेर लगातार हातमा स्यानिटाइजर लगाइरहेका छन्। बुहारी भने घरी कुर्सीबाट उठेर फोनमा कुरा गर्छिन्, घरी अस्पतालका कर्मचारीसँग कुरा गर्न खोज्छिन्। उनका हात काँपिरहेका छन्। छटपटी दुबैलाई उत्तिकै देखिन्छ।

सोमबार बिहान कर्णाली प्रदेश अस्पतालको ‘कोभिड अस्पताल’ मा देखिएको यो छटपटी कोरोनाबाट मृत्यु भएका चिङ्गाड गाउँपालिका-२ का प्रेम बिकका बुबा र भाउजुको हो।

अस्पतालबाट शव लिन आएका शववाहन र सेनाको ट्रकलाई उनका बुवा सेते कामीले नियालिरहेका थिए।

‘लास त अब यसैले लाने होला,’ सेनाको ट्रक देखाउँदै उनले भने, ‘हामी केमा जाने हो, गाडी बन्द छन्। रिजर्भ गरी लैजाने क्षमता हाम्रो छैन।’

उनीहरूलाई अर्को पनि चिन्ता थियो- लास जलाउने चिता कसरी बनाउने? यसैका लागि प्रेमकी भाउजु कमलाले बारम्बार आफन्तलाई फोन गरिरहेकी थिइन्। उनका घरबाट आफन्त आउन सक्ने सम्भावना थिएन।

प्रकाशित मिति: : 2021-05-04 18:20:00

प्रतिकृया दिनुहोस्