बिरामीका लागि अक्सिजन भर्न दिनमा १६ घण्टा खटिने ‘हिरो’हरूको कथा

लोकान्तर

काठमाडौँ

गगन अर्याल / विश्वास खनाल

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सोलुखुम्बुका विजय तामाङको दैनिकी पनि फेरियो । सामान्य समयमा दिनमा ८ घण्टा ड्युटीमा खटिने तामाङ अहिले दिनमा १६ घण्टासम्म ड्युटीमा खटिन्छन् । 

कोरोना भाइरसको संक्रमणका कारण अक्सिजनको माग बढ्दै गएपछि काभ्रेको पनैतीमा रहेको नवज्योति ग्यास प्रा.लि.मा काम गर्ने उनी जस्तै अन्य साथीहरूको पनि यसैगरी दैनिकी फेरिएको छ । 

देशको मुटु राजधानी काठमाडौंका निजी अस्पतालहरूमा अक्सिजन सप्लाई गर्ने नवज्योति अक्सिजन प्लान्टमा कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ काम गर्ने मजदुरहरू अक्सिजन उत्पादन गर्न तल्लिन भएका छन् ।

‘अक्सिजनको माग छ । बिरामीमा ज्यान हाल्ने पनि यसैले हो । मर्न लागेकाको ज्यान बचाउने अक्सिजन भर्न पाउँदा खुशी लाग्छ,’ विजयले लोकान्तरसँग भने, ‘हामी ४/५ घण्टा खटिँदा सयजना भन्दा धेरैको ज्यान बच्छ भने त्यो भन्दा ठूलो धर्मको काम के हुन्छ र सर ?’

उनीसँगै काम गर्ने काभ्रे धनेश्वर– १० का दिनेश भुजेल पनि अहिले लामो समयसम्म ड्युटीमा खटिन्छन् । आफूले भर्ने अक्सिजनले बिरामीको ज्यान बचाएको भान हुने उनले बताए ।

‘मैले भर्ने अक्सिजनको सिलिन्डरमा एकजना बिरामी बाँचेको जस्तो लाग्छ,’ दिनेशले लोकान्तरसँग भने, ‘यस्तो बेलामा डाक्टर जस्तै हौं नि हामी पनि, उनीहरू उपचार गर्छन्, हामी अक्सिजन दिन्छौं ।’

भारतमा अक्सिजन नपाएर कोरोनाका सयौं संक्रमितको मृत्यु भएको सुन्दा मन खिन्न हुने सिन्धुपाल्चोकका आत्मराम चौलागाईँ बताउँछन् । 

प्रकाशित मिति: : 2021-05-04 18:21:00

प्रतिकृया दिनुहोस्