कारभित्र मृत भेटिएका बालकहरुको पहिचान खुल्याे, चालक प्रहरी नियन्त्रणमा

तुलसीपुर उप-महानगरपालिका- ६ मा भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ।

मृत अवस्थामा भेटिएकाहरु तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा करण परियार रहेको प्रहरीले जनाएको छ।

उनीहरु शनिबार तुलसीपुर–६ स्वर्गद्धारी टोलमा पार्किङ गरिएर राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा मृत फेला परेका थिए।

उनीहरु तीनै जना वैशाख १६ गते हराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकले निवेदन दिएका थिए। शनिबार बेलुका स्थानीयले पार्किङ गरेर राखिएको गाडी भित्र शव भेटाएका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए। 

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले चलाएर ल्याएका थिए। उनी अहिले प्रहरीको नियान्त्रणमा छन्।

घटनाको बारेमा थप अनुन्सधान भइरहेको इप्रका तुलसीपुरले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-02 09:24:00

प्रतिकृया दिनुहोस्