महामारीमा बेहाल भारतका नेपाली 

हिमाल खबर

काठमाडौँ

अलिशा सिजापति 

अमर तिरुवा र उनकी श्रीमती राधा पछिल्लो एक दशकदेखि भारतको गोवामा बस्दै आएका छन्। उनीहरूकी ११ वर्षकी छोरी अन्तरा छिन्।

पोर्चुगलले लामो समय राज गरेको यो शहरमा आरामदायी जागीरसहित अमर र राधा खुशीसाथ जीवन बाँचिरहेका थिए। तर, दुई साताअघि मात्र कोभिड–१९ महामारीले उनीहरूको जीवन तहसनहस पारिदियो।

उमेरमा ३० को दशकमा हिँडिरहेका अमर र राधा दुबैलाई कोभिड-१९ संक्रमण भएको पुष्टि भयो। स्वास्थ्य बिग्रिँदै गएपछि उनीरू गोवा मेडिकल कलेजमा उपचारका लागि भर्ना भए। छोरी अन्तरालाई छिमेकको एउटा चर्चले हेरविचार गर्‍यो।

२४ अप्रिलमा राधाले खतरनाक भाइरससँगको लडाइँ हारिन्। तर, अमरलाई यो कुरा अहिलेसम्म थाहा छैन, किनकि उनी स्वयं अहिले भेन्टिलेटरमा अचेत छन्। घाटहरू खाली नहुँदा स्वयंसेवीहरूलाई राधाको अन्त्येष्टि गर्नै तीन दिन लाग्यो। छोरी अन्तरालाई पनि उनकी आमा अब संसारमा रहिनन् भनिएको छैन।

अमरकी ८० वर्षीया आमा नेपालको कैलाली जिल्लामा बस्छिन्, जसको आफ्नै स्वास्थ्य राम्रो छैन। अमरका भतिजा कमलका अनुसार, असहाय वृद्धा आमा ईश्वरसँग छोराको स्वास्थ्य स्थितिमा सुधारका निम्ति प्रार्थना गरिरहेकी छन्। मुम्बईमा बस्ने कमल स्वयं पनि गोवा जान पाएका छैनन्, किनभने यात्रा प्रतिबन्धित छ।

तिरुवा परिवारको संघर्ष र वियोग भारतले भोगिरहेको महामारीको दुःखको सागरको एउटा थोपा मात्रै हो। पछिल्लो एक सातामा मात्र हरेक दिन भारतमा तीन लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्। कोभिड–१९ कै कारण मृतकको कुल संख्या दुई लाख नाघेको आधिकारिक तथ्यांक छ। यद्यपि, सार्वजनिक स्वास्थ्यका विज्ञहरूका अनुसार, संक्रमित र मृतकको संख्या यी तथ्यांकभन्दा धेरै छ।
 

प्रकाशित मिति: : 2021-04-29 21:11:00

प्रतिकृया दिनुहोस्