नर्सिङ कर्मचारी आकांक्षासिंह राठौर महाकाली अस्पतालको कोभिड वार्डमा थिइन्। तीन दिनअगाडि एक जना पुरुष स्वाँ-स्वाँ गर्दै आइपुगे।
उनलाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डबाट ल्याइएको थियो।
ती पुरुष कोरोना संक्रमित थिए। उनको शरीरमा अक्सिजनको मात्रा ६० प्रतिशतमात्र थियो।
‘हामीले तुरून्तै उहाँलाई अक्सिजनमा राख्यौं। उहाँको श्वासप्रश्वासको गति एक्कासि तलमाथि भयो। पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरू गर्यौं,’ उनले भनिन्।
त्यो घटनाले राठौरलाई अहिले पनि झस्काउँछ।
‘जति कोशिश गरे पनि उहाँलाई पहिलाको अवस्थामा ल्याउन सकेनौं। उहाँको मृत्यु भयो,’ उनले भनिन्।
मान्छे बाँच्नका लागि यतिसम्म प्रयास गर्ने रहेछ भन्ने उनले तिनै पुरुषलाई देखेर थाहा पाइन्। उनलाई बचाउन नसकेको कुराले राठौरलाई अहिले पनि पोल्छ।
‘अस्पतालमा बिरामीहरू छटपटाई रहेका हुन्छन्। कोही हात समात्दा-समात्दै मर्छन्। आफ्नो तनाव छुट्टै छ। परिवारको तनाव अर्कै छ,’ उनले भनिन्।
आइसियूमा त्यस्ता दृश्य देखेकी उनलाई बाहिर केही मानिसले कोरोनामाथि गरिरहेको हेलचक्र्याइँ देखेर दु:ख लाग्छ।
‘भित्र हामीले यसरी काम गर्नु परिरहेको छ तर बाहिर मान्छे अहिले पनि बिना कुनै सावधानी हिँडिरहेका छन्,’ उनले भनिन्।
अस्पताल आउने सबैलाई आफूहरूले परिवारको सदस्यझैं सेवा दिने उनले बताइन्।
‘ती बुबाको अनुहार मलाई प्रस्टै याद छ। हामी यहाँ आएका सबैलाई आफ्नो परिवारको मान्छे जसरी नै सेवा दिन्छौं,’ उनले भनिन्।
ती पुरुष अस्पताल पुग्दा उनलाई नमस्कार गरेर ढोग्न आएका थिए। 'बचाइदिनुस्' भन्दै बिन्ती गरेका थिए।
‘मलाई बचाइदिनुस्, तपाईं नै भगवान हो भनेर नमस्कार गरेको मलाई याद छ,’ उनले भनिन्।