महामारीमा स्वास्थ्य पूर्वाधार : एक वर्षमा के गरियो सुधार?

हिमाल खबर

काठमाडौँ

रमेश कुमार 
गत वर्षको जेठमा ल्याइएको चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने घोषणा गर्‍यो। कोरोनाभाइरस (कोभिड–१९) महामारीका बीच सरकारले गरेको नयाँ अस्पताल निर्माणको घोषणाले आशा जगाए पनि याे अस्पतालको टुंगो अझै लागेको छैन। मनमोहन मेमोरियल अस्पताल सरकारले खरीद गरेर सरुवा रोग अस्पताल बनाउने योजना भए पनि निर्क्याेल भएको छैन।

बजेटले प्रदेश र राजधानीका अस्पतालमा थप २५० आईसीयू शय्या स्थापना, सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन तथा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। घोषणा गरिएकामध्ये आंशिक काम शुरू भए पनि निर्माण कहिले सकिने हो, टुंगो छैन।

हरेक स्थानीय तहमा अस्पताल स्थापनाका लागि सरकारले बजेटको स्रोत सुनिश्चित गरेर यही वर्षदेखि स्थानीय तहहरूलाई रकम दिन शुरू गरेको छ। तर, यी अस्पतालको निर्माण सकिन कैयौं वर्ष लाग्ने निश्चितप्रायः भएकाले अहिलेको महामारीमा ती योजनामा रहेका अस्पताल काम आउने छैनन्। सात वटै प्रदेश राजधानीमा सरुवा रोग अस्पतालको पूर्ववत् घोषणा पनि अहिलेको महामारीलाई सम्बोधन गर्ने हिसाबले निरर्थक हुन पुगेको छ। यद्यपि, काठमाडौंका त्रिवि शिक्षण अस्पतालसहितका केही अस्पतालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिएको छ। वीर अस्पतालको २०० शय्याको नयाँ भवनमा पनि कोभिड–१९ का बिरामीलाई राखिने तयारी छ।

बजेटले हरेक प्रवेश नाकामा आवश्यक उपकरणसहितको ‘हेल्थ डेस्क’ स्थापना गर्ने घोषणा पनि गरेको थियो। तर, स्थल नाकाबाट आवतजावत गर्नेको परीक्षण गर्न यस्ता डेस्कहरु प्रभावकारी हुन सकेका छैनन् । जसका कारण भारतसँगको सीमानाकाहरूमा स्वास्थ्य जाँचबिना नै निर्बाध रूपमा मानिसहरूको प्रवेश हुने गरेको छ।
 

प्रकाशित मिति: : 2021-04-27 21:54:00

प्रतिकृया दिनुहोस्