गत फागुनमा बाँकेको भेरी अञ्चल अस्पतालमा जम्मा ६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको थियो। ठीक एक महिनापछि अर्थात् चैत अन्तिम सातादेखि त्यो संख्या बढेर २० पुग्यो। त्यसपछि संक्रमितको संख्या बढ्नेक्रम रोकिएन। खतरा घण्टी बजाएरै आएको थियो तर केही गर्न सकेन प्रशासनले।
वैशाख १ गतेदेखि कोरोना भाइरस संक्रमणको लक्षणसहित उपचारका लागि आउने र संक्रमण पुष्टि हुनेको संख्या ह्वात्तै बढ्यो। त्यसपछि सुरु भयो शय्यादेखि जनशक्तिको अभाव। बढ्दै गयो मृत्युदर पनि।
वैशाख दोस्रो साता कोहलपुरका एक ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गराएका उनी होम आइसोलेसनमा थिए। केही दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उपचारका लागि अस्पतालमा शय्याको खोजी गरे। तर, कहाँ पाउनु? वैशाख १२ गते खबर सार्वजनिक भयो – ती मानिसले घरमै आत्महत्या गरे।
त्यसै दिन बाँकेकै एक चिकित्सकलाई अञ्चल अस्पताल पुर्याइयो, संक्रमणपछि खराब बनेको स्वास्थ्य उपचारका लागि। तर, न उनले काम गर्ने अस्पतालमा शय्या थियो न पुर्याइएको भेरी अस्पतालमै। चिकित्सक हुनु, अस्पतालका मानिसलाई चिन्नु – शय्या पाउने आधार रहेन अब। अनेक प्रयास र याचनापछि निराशासहित अन्यत्र लगियो उनलाई।
अस्पताल नै पुग्नेहरू पनि अवस्था कहाँ मत्थर बनाएको छ र औषधी, उपचारले? कोही शिथिल भएर लडिरहेका अनि कोही पीडाले छट्पटाइ रहेको देख्दा आफैलाई अत्यास लाग्ने बताउँछन् भेरी अञ्चल अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डे।