नेपाल सांस्कृतिक तथा जातीय विविधताको दृष्टिकोणले संसारकै धनी देशहरू मध्येमा पर्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १ सय २५ जातिहरू सूचीकृत छन्। नेपाल राष्ट्रको निर्माण र योगदानमा नेपालका रैथाने सार्की जातिको महत्त्वपूर्ण स्थान रहेको छ। जनसंख्याको हिसाबले सार्की पन्ध्रौं स्थानमा छ। २०७६ वैशाख ३० सम्म तीन लाख ८४ हजार एक सय ८६ अर्थात् १.४३ प्रतिशत रहेका छन्। सार्की शिल्पकला, संस्कृति, सभ्यताका धनी र राजकाज गरिसकेका विशिष्ट समुदाय हुन्। उनीहरू मानव समाजमा दक्ष, कुशल, साहसी, शुरवीर, लडाकु योद्धाको रूपमा परिचित छन्।
हाम्रो समाजमा अस्पृश्यताको भावना ल्याउने प्रमुख कारण स्मृति, धर्म, पुराण, ग्रन्थलाई मानिन्छ। यसको जग भनेको देवालय हुने गरेको छ। स्मृतिग्रन्थमा वर्णित अनेक जातिको नाम वेदमा पनि पाइन्छ। ऋग्वेदमा छालाको काम गर्ने चर्मम्न अर्थात् चमार वा सार्कीको नाम उल्लेख भएको छ। वाजसनेयी संहितामा चाण्डाल र पौल्कसको नाम पाउन सकिन्छ। यसैगरी अस्पृश्यताको अर्को कारण हो। म्लेच्छ अर्थात् अहिन्दू जाति र कुनै खास देशको निवासी वा कुनै खास धर्म मान्ने व्यक्तिको संसर्ग वा त्यस्तो व्यक्ति पनि अस्पृश्य मानिन्छ। यति मात्र होइन, कुनै समय माझी, व्याधा, कसाई, धोबी, कामी, दमाई, सार्की, मुसलमान, इसाई आदि सबै अस्पृश्य मानिन्थ्यो। तर, पछि माझी अस्पृश्यमा गनिन छोडियो।
आर्यद्वारा पराजित दस्यु अनार्य नै कालान्तरमा शुद्रको गणनामा आए। यसरी हेर्दा किँरात मंगोल, द्रबिड हाँगो र केही खश नश्लको संयुक्त रक्त मिश्रणबाट नै सार्की (हिमाल/पहाडका सबै कथित दलित) जातिको जातीय नश्लको विकास भएर आएको पाइन्छ। नेपाली समाजका कतिपय जातिलाई सम्मानपूर्वक सम्बोधन गरिएको पाइन्छ। जस्तो– बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र शाहलाई बाबु साहेब, क्षत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, तराई/मधेशका थारुलाई चौधरी, दमाईलाई दर्जी भने जस्तै सार्कीलाई आदरसुचकको रूपमा मिजार भन्ने पद दिएका थिए (पन्त, २०७१)।
साबर (रसा युनिकलर) हिमालयको दक्षिण ढालमा पाइने मृग हो। दैलेखी साबर जुत्ता पनि यसैबाट बन्छ। ‘पवित्र’ मृगको र मयलपोससँग रङ मिल्ने भएर पनि यसले मान्यता प्राप्त गर्यो। सार्की शब्द तिब्बतको साँर्हाकबाट आएको भन्ने भनाइलाई मान्ने हो भने तिब्बती प्रभाव मान्नुपर्ने हुन्छ। मिजारको अर्थ हुन्छ रातो रङले छाला रङाउने व्यक्ति (सौरभ, २०७१ )। तर, सार्की शब्द जुम्लाबाटै उत्पत्ति भएको हो भनिन्छ। स्थानीय भक्तबहादुर सार्कीका अनुसार जुम्ला जिल्लाको साविकको कुडारी गाविस सँगै ‘सराक’ नामको पहाड रहेको छ। त्यही पहाडको नाम बाटै ‘सराक, साराक’ अपभ्रंश हुँदै सार्की शब्दको उत्पत्ति भएको बलियो मान्यता पनि रहिआएको छ। विभिन्न मतमतान्तर रहे पनि सार्की जाति नेपालकै पुरानो मंगोल–किराँत मूलको मिश्रित नश्लका रैथाने मूलवासी हुन्।