मोरङको सुन्दरहरैंचा–६ दुर्गाटोल स्थित हिमचुली सांस्कृतिक परिवारका कलाकारहरूले ब्यावसायिक रुपमा नौमति बाजा बजाउन थालेका छन्। कुनै समय पूर्वीय समाजमा दर्जीहरू बाहेक कसैले पनि यो बाजा बजाउनु हुन्न भन्ने चलन थियो। परम्परागत रुपमा उनै दर्जीहरूले बजाउने नौमति र पञ्चेबाजा दुर्गाटोलका गैरदर्जीहरू झ्याँई –झ्याँई बजाउन थालेपछि सङ्गीत र सीप सिक्न जातले छेक्दैन भन्ने प्रमाणित भएको छ।
गत वर्षको माघ देखि स्थानीय डिल्लीराम रिजालको घरमा नौमति बाजा बजाउन सिकेका सबै कलाकार क्षेत्री, ब्राह्मण समूदायका छन्। न सांस्कृतिक बिचलन, न त कसैको परम्परागत पेशामा हस्तक्षेप। गाउँमा शुभकार्य गर्नु पर्दा सात गाउँ टाढाबाट जनशक्ति खोजेर ल्याउनु पर्ने बाध्यता थियो। नभई पनि नहुने। सिपालु कलाकारको अभाव पनि उस्तै। अझ मोल मोलाईको पनि उत्तिकै समस्या। गाउँमा शुभ कार्य हुँदा नौमति र पञ्चे बाजा बजाउने कलाकारहरूको अभाव भएपछि हिमचुली सांस्कृतिक समूहले आफ्ना सदस्यलाई नौमति बाजा बजाउन सिकाउन थालेको हो।
कोरोना कहरले मुलुक थलिएका बेला हिमचुली सांस्कृतिक समूहले भने अब्बल नौमति/पञ्चे बाजा बजाउने टोली तयार गरेको छ। कोरोनाले मानिस गाउँ मै बाँधिएपछि समूहले तालिमलाई अझ प्रभावकारी बनायो। हरेक बेलुका डिल्लीराम रिजालको घरमा भेला भएर बाजा बजाउन सिक्दा गाउँ नै गुन्जयमान हुने गर्थ्यो। सुरुका दिनमा टाढा टाढाका मानिसहरूले पनि सुन्दरहरैचा ६ दुर्गाटोलका बासिन्दाको काम प्रति ओठ लेप्र्याए। कतिले दमै बाजा बजाउने भनेर खिसी गरे। तर, दुर्गाटोलका ३१ परिवार आफ्नो अभियानबाट पछि हटेनन्।
समूहका अध्यक्ष गणेशप्रसाद ढकालले भने– परम्परागत रुपमा दर्जीहरूले यो बाजा बजाउने गर्नुहुन्थ्यो। हाल आएर उहाँहरूको युवा पुस्ता यो बाजा प्रति आकर्षित छैन्। अधिकांश बैदेशिक रोजगारमा छन्। बुढापाकाहरू पनि भ्याउँदैनन्। हामी कहाँ साँच्ची नै अभाव भएर बाजाको संरक्षण पनि हुने, ब्यवसाय पनि हुन सक्ने भनेर यो अभियान सुरु गरेका हौं।’
समूहले पुरुष महिलाको १३÷१३ जनाको अलग अलग टिम तयार गरेको छ। सबै कलाकारहरू सबै बाजा बजाउन खप्पिस भइसकेका छन्। गत वर्षको जेठमा संस्था दर्ता गरेपछि समूहले ईच्छुक ब्यक्तिहरूसँग चन्दा सङ्कलन गर्यो। बिदेशमा बस्ने गाउँका भाइहरूले सहयोग पनि पठाए।
१ लाख ८० हजार रुपियाँमा बाजाहरू खरिद गरेपछि गत वर्षको माघ देखि हरेक दिन बेलुका बाजा बजाउने अभ्यास सुरु भएको हो। ६ महिना सिकेपछि अहिले के महिला के पुरुष सबै जना सबै खाले बाजा बजाउन सक्ने हुनु भएको छ।
गाउँमा नौमति बाजाको संरक्षण गर्ने अभियान सुरु भएपछि वडा कार्यालयले समूहलाई पोशाकको ब्यवस्था गरिदिएको छ। बाजा बजाउन सिकाउने दुर्गाकुमार थपलियाले भने – सीप र सङ्गीत कसैको पेवा होइन। जसलाई सङ्गीतको भोक लागेको छ। उसले साधना गरेर प्राप्त गर्ने हो। हाम्रो समूहका सबै साथीहरू लगनशील भएर लाग्नु भयो। अहिले सबै पोख्त बन्नुभएको छ। थपलिया आफू पनि सहकारी संस्थाका कर्मचारी हुन्। तर, उनी आफै साथीहरूलाई उर्जा प्रदान गर्ने र अभियानमा सहभागी गराउने गर्छन। उनले भने–अब हाम्रो समूह कुनै पनि पुराना परम्परागत रुपमा बाजा बजाउने टोली सँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ।