जोगवनीको ढाट बन्द गरेर यसरी नेपाल छिराइँदैछ कोरोना (फोटो/भिडियो) 

नवीन अर्याल

विराटनगर

देशको ठूलो आर्थिक नगरी विराटनगर यतिबेला कोरोना महामारीको त्रासमा बाच्न बाध्य छ।

पूर्वको महत्वपूर्ण नेपाल–भारत नाका रहेको जोगवनीबाट दिनहुँ १० प्रतिशत कोरोना संक्रमित नेपाल प्रवेश गरिरहेका छन्। तर, यस विषयमा प्रशासन जानकार भएपनि खासै व्यवस्था मिलाइएको छैन।

पुलिस मौन छ। सबै कुरा खुला सीमालाई दोष दिएर पन्छिने काम भएको छ। केन्द्रदेखि स्थानीय सरकारसम्म राम्रो तालमेल देखिन्न। सीमामा खटिएका प्रहरीलाई सोध्यो भने बोल्न मिल्दैन भन्दै पन्छिने गरेका छन्। प्रहरीको उच्च निकायको भने फोन उठ्दैन।

जोगवनी नाकाको ढाट आंशिक रूपमा बन्द छ। भारतबाट सामान किनेर नेपालमा व्यापार गर्ने सानातिना व्यापारी दिनमा तीन पल्ट नाका ओहोर–दोहोर गर्छन्। उनीहरूको कुनै चेकजाँच हुँदैन।

नाकामा महानगरपालिकाले दुईवटा कोभिड जाँचका लागि अस्थायी पाल बनाएको छ। यहाँबाट दिनमा सय जना नेपाल प्रवेश गर्दा १० जनामा कोरोना संक्रमण देखिएको चिकित्सक कमलकिशोर यादव बताउँछन्।

नाकामा भारतको ठूलो शहरबाट फर्किनेको संख्या बढी छ। यसमा खासगरी भारतमा पढ्दै गरेका नेपाली विशेष छन्। यसबाहेक नाका कडा गरिएको छ।

नाका कडा हुँदा स्थानीयहरू छेउछेउको खुला सिमानाबाट निर्धक्क आवतजावत गरिरहेका छन्। सीमा सुरक्षाको लागि बसेको सशस्त्र बल तथा नेपाल प्रहरीका जवान कुनै ‘लाठे’ भन्दा निरिह देखिन्छन्। उनीहरू खेतमा भेडाबाख्रा भगाउन बसेका कामदार जस्तै देखिन्छन्। न उनीहरूसँग चेक गर्ने थर्मामिटर छ, न सेनिटाइज गर्ने कुनै उपकरण नै।

यसले तस्करी पनि मौलाएको स्थानीयहरूको गुनासो छ। सीमा क्षेत्रमा ड्रग्स सेवन गर्नेको त ताँती नै छ। खुला ठाउँबाट अनियन्त्रित मानिस बस्तीभित्र प्रवेश गर्दा नाका नजिकैको टोल मात्र होइन, शहरतिरका मानिस पनि आत्तिन थालेका छन्।

यसरी सीमा ओहोर–दोहोर गर्नेको चेतनास्तर पनि निकै कमजोर देखिन्छ। मुस्लीमहरूको ठूलो चाँड रमजानको कारण रोजा बस्न स्थानीय महिलाहरू नेपाल र भारत सीमामा निर्विवाद ओहोर–दोहोर गरिरहेका छन्। यहाँका धेरै मानिसको माइत भारतमा छ भने घर नेपालमा।

यस्तै, महामारीको बेला साडी किन्न जाने महिलाको जमात पनि उस्तै देखिन्छ। सुरक्षाकर्मीले कुन उद्देश्यका लागि उनीहरू त्यता जान लागेको हो? त्यसको खबर लिने काम गरेको पनि देखिन्न।

रानीका स्थानीय समाजसेवी किशोर शाही भन्छन्, ‘यो त सिधै सुसाइड हो। बरु सीमामा सबैको रेकर्ड राखेर ओहोर–दोहोर गर्न दिँदा मानिस सरकारी निगरानीमा पर्छन। यसरी खुल्लम खुल्ला दिनमा तीन पल्ट आउन–जान दिने हो भने सबैलाई घरमा ताला लगाएर बस भने भइगोनि।’

सीमा नाकाबाट सामान किनेर ओहोर–दोहोर गर्दा सरकारलाई महंगो राजश्व तिर्नुपर्ने तर खुल्ला ठाउँबाट आउजाउ गर्दा आर्थिक भार त्यति नपर्ने मनोविज्ञान सीमामा रहेका व्यापारीहरूको देखिन्छ।

वडा नम्बर १८ का वडाध्यक्ष मनोज सुब्बा खुला नाकाका कारण रानीको धेरै टोलहरू कोरोनाको उच्च जोखिममा परेको स्विकार गर्छन्।

उनी भन्छन्, ‘यस विषयमा हाम्रो लगातार बैठक बसिरहेको छ। तर, पारिबाट आउने मानिस तथा नेपालबाट भारतमा समान किन्न जाने व्यक्तिलाई रोक्न सकिएको छैन।’

प्रकाशित मिति: : 2021-04-27 14:32:00

प्रतिकृया दिनुहोस्