‘फेक लोकतन्त्र, फेक गणतन्त्र !’
२०६२ चैत २६ देखि २०६३ वैशाख ११ गतेसम्म देशव्यापी चर्किएको आन्दोलनलाई नेपाली इतिहासमा ‘जनआन्दोलन भाग–२’ तथा केहीले ‘गणतान्त्रिक आन्दोलन’ पनि भन्ने गरेका छन्।
आदिकालदेखि जरा गाडेको हिन्दू राजतन्त्रात्मक शासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न जनआन्दोलन सफल भयो।
तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी तथा सात दल सम्मिलित १९ दिनसम्म चलेको जनआन्दोलनमा दुई दर्जनभन्दा बढी शहीद भए।
सयौं जना घाइते भए। आम जनतादेखि उद्यमी, शिक्षक, पत्रकार, साहित्यकार तथा पेशाकर्मीले जनआन्दोलनमा खुलेर सहभागिता जनाए।
साहित्यकारहरू पनि बामपन्थी र प्रजातान्त्रिक मोर्चा बनाएर आन्दोलनमा होमिए। साहित्यकारहरूले कविता वाचन, नाटक प्रदर्शन, नाचगान, नारा लेखन र भाषण गर्दै आन्दोलनको माहोल तताउन थप ऊर्जा दिए। कैयौं कवि, साहित्यकार ‘जनताका कवि’को रूपमा स्थापित भए।
यद्यपि लोकतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउन नसकेको तीतो यथार्थ सबैले भोग्नुपरेको छ।
साहित्यकारहरू पनि लोकतन्त्रले जनभावनाको कदर गर्न नसकेको अभिव्यक्ति दिइरहेका छन्। कतिपयले आफ्ना असन्तुष्टि सिर्जनामार्फत व्यक्त गरिरहेका र सत्तालाई सचेत गराइरहेका छन्।