कम्युनिस्ट पार्टी स्थापना दिवसकै आसपासमा 'विभाजनको डिल'मा एमाले !

लोकान्तर

काठमाडौं

सरकारको नेतृत्व गरिरहेको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले पार्टी स्थापना दिवसको आसपासमै सम्भवत: इतिहासकै निकै जटिल मोडमा पुगेको छ।

एमाले झलनाथ खनाल-माधव नेपालपक्षीय १५ नेताले बिहीवार सामूहिक अपिल जारी गर्दै पार्टी विभाजनको डिलमा पुगेको उल्लेख गरेका छन्।

विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको संवादहीनता बुधवार तोडिएको थियो।

बुधवारको छलफलको निरन्तरतास्वरूप बिहीवार भएको वार्ता सहमतिभन्दा तिक्तताउन्मुख हुँदा एमाले विभाजनको दिशामा अगाडि बढेको कार्यकर्ताहरूले विश्लेषण गर्न थालेका छन्। 

लामो संवादहीनता तोड्दै बुधवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच घण्टौँ वार्ता भएको थियो। 

महिना लामो संवादहीनता तोड्दै भएको बुधवारको वार्तालाई ‘आइसब्रेक’को संज्ञा दिएपनि वार्ता खासै निष्कर्षमा पुग्न नसकेको एमाले स्रोत बताउँछ। 

नेताद्वयबीच बिहीवार पनि नागपोखरीको म्यारियट होटलमा वार्ता भयो। ओलीसँगको वार्तापछि बाहिरिने क्रममा नेता नेपालले कुनै प्रगति नभएको बताए।

प्रकाशित मिति: : 2021-04-22 19:23:00

प्रतिकृया दिनुहोस्