दोस्रो विश्व युद्धताका जापानी सेनाबाट उनी झण्डै मारिएका थिए। उनका पिता बेलायती सेनामा भर्ती भएर पहिलो विश्व युद्ध लड्न जर्मनी पुगेका थिए। बर्मा, हालको म्यान्मारमा रहेको नेपाली गाउँ मेमेऊमा बसेर करिब एक दशक कडा परिश्रम गर्ने क्रममा उनले चार वटा गाडी र घरघडेरी जोडिसकेका थिए। मेमेऊमा उनको गाडीको ठूलो ‘वर्कशप’ पनि थियो।
तर, ती सबै छोडेर नेपाल फर्किनुपर्यो। त्यसको एउटै कारण थियो, २ मार्च १९६२ मा बर्मामा लागु सैन्य शासन। जर्नेल ने विनको नेतृत्वमा १९७४ मा व्यक्तिको जग्गाजमिन सबै राष्ट्रियकरण गर्ने कानुन पास भएपछि आफ्नो जन्मभूमि त्यागेर उनी पुख्र्यौली माटोमा फर्किए।
हाल ९३ वर्षको उमेरमा आफ्नो छोरासँग विराटनगरस्थित महेन्द्र चौक नजिक २०२८ सालमा किनेको जग्गामा घर बनाएर बसेका छन्।
उनी अर्थात भीमबहादुर बस्नेत।
१ फेब्रुअरी २०२१ मा बर्माको सैन्य शासकले पुनः त्यहाँ प्रजातन्त्रको हत्या गर्दै सैन्य शासन थोपरेकोमा दुःखी छन्। ६ दशकअघि सैन्य शासनका कारण आफूले भोग्नुपरेको कस्ट उनको आँखा अगाडि नाच्न थालेको छ।
लामो समयदेखि बर्मामा बस्दै आइरहेका नेपालीहरूको हालत के भएको होला? यो सम्झेर उनको मुटु चस्स घोच्छ। आफैसँग प्रश्न सोध्छन्, ‘आखिर स्याण्डवीच बन्ने त नेपालीहरू नै हुन नि?’
बर्माको विकाशमा नेपालीहरूको ठूलो हात छ। पूर्वीय दर्शनलाई बचाइराख्न पनि नेपालीहरूले उच्च योगदान गरेका छन्। फेरि प्रजातन्त्रप्रति बर्मेली–नेपालीको अटल विश्वास छ।
दोस्रो विश्व युद्धताका बर्मेलीहरूलाई जापानी सेनाले दिएको दुःखकस्टबाट बाहिर निकाल्ने नै नेपालीहरू हुन्। ४ जनवरी, १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएपछि बर्माको सुरक्षा निकै कमजोर भएको थियो। यतिबेला पनि नेपालीहरू नै चट्टान बनेर उभिएका थिए। बीचको केही वर्ष कम्युनिस्टहरूले उपद्रो मच्चाउँदा पनि गोर्खाली सेनाले नै त्यसको सामाधान गरेको थियो।
भीमबहादुरका बुवा धनबहादुर बस्नेत १९१४ को पहिलो विश्व युद्ध लड्न ओखलढुंगाबाट जर्मनी पुगेका थिए। जर्मनीमा चार वर्ष लड्ने क्रममा उनले पैसा नकमाएका होइनन्। त्यतिबेला शाही सेनाको मासिक तलब २० रुपैयाँ थियो।
तर गाउँमा सधैजसो जुवातास, तीन श्रीमती तथा उनीहरूबाट जन्मिएका सन्तानको रेखदेख गर्दागर्दै कतिबेला ऋण लाग्यो, उनले पत्तै पाएनन्। गाउँमा साहुहरूको सधैजसो किचकिच सहन नसकेपछि उनी कामको खोजीमा पुनः दार्जीलिङ हानिए। त्यतिबेला दार्जीलिङ गोराहरू बसोबास गर्ने स्थान थियो। त्यहाँका चिया बगानमा उनीहरूको आदिपत्य थियो। यही बसोबास गर्ने एउटा गोरालाई तल्लो बर्मामा चिया बगानको रेखदेख गर्न एउटा विश्वासिलो मान्छेको आवश्यकता परेको रहेछ।
बेलायती सेनामा बसेर पहिलो विश्व युद्ध लडिसकेका धनबहादुरलाई भेटेपछि गोरा दंग पर्यो र उसैको सिफारिसमा भीमबहादुरका पिता कुलानस्थित चिया बगानमा काम गर्न बर्मा हानिए। उनलाई गोराले थप ५० जना नेपाली कामदार खोजेबापत सरदार पद दियो। यतिबेला चिया बगानमा रुखको जरा उखेलेबापत ५ रुपैयाँ पाइन्थ्यो। फेरि दिनभरी काम गरेको आठ आना पैसा छुट्टै।
तीन वर्ष काम गर्ने क्रममा उनले गाउँमा लागेको सबै ऋण चुक्ता मात्र गरेनन्, आफ्नी प्रिय कान्छी बुढीलाई पनि सँगै बर्मा लिएर गए। यही कान्छी बुढीबाट सन् १९२८ मा भीमबहादुरको जन्म भयो।
सन् १९४० मा उनी ११ वर्ष पुरा भएर १२ टेक्दै थिए। जापानले बर्मामाथि आक्रमण गर्यो। यतिबेला भीमबहादुर स्कुलमा पढ्थे। उनी झण्डै जापानी सेनाले हेलिकोप्टरबाट छोडेको बमको झर्रा लागेर मरे। यसपछि पढाई छुट्यो। सन् १९४३ मा बुवाको बर्मामै निधन भयो। यसपछि झन् पढ्ने कुरा भएन। उनलाई अहिले पनि पढ्न नपाएकोमा पछुतो छ। तर, काममा पोख्त भीमबहादुर सबै कुरामा अलराण्डर थिए।
बुवाका ७ भाई छोरामध्ये ४ जना सुरुदेखि नै नेपाल बसे। आफ्नो आमाबाट जन्मिएका जेठा छोरा बुवाको निधनसँगै छुट्टिएर रंगुन बस्न थाले। माइलो भाई पनि बुवाको एक वर्षको काम सकिएपछि अन्यत्र लाग्यो।
यस्तो अवस्थामा भीमबहादुरले आमा पाल्न १३ वर्षको उमेरदेखि नै काम गर्नुपर्यो। पहिले उनी ‘ह्यामरम्यान’ को रूपमा नियुक्त भए। पछि गोराको पनडुब्बीमा ‘फिटर अपरेटर’ को भूमिकामा अपग्रेड भए।
दोस्रो विश्व युद्धअघि बुवाले कोलानको चिया बगानमा काम गर्नेक्रममा २ सय रुपैयाँमा घर किनेका थिए। तर, जापानी सेनाको बढ्दो दबाबका कारण कोलानको वातावरण एक्कासी बिथलियो। कोलान आइसल्याण्डबाट जापानी सेना प्रवेश गर्ने आशंकाका बीच धेरै बर्मेली त्यहाँबाट भागेर गए। लुटपाटको घटना बढ्यो। एकदिन उनी बुवासँगै राती घर फर्किदा उनको घर कसले हो? तोडफोड गरिसकेका रहेछन्। परालमा सुतेर रात कटाएको त्यो दिन अझ पनि उनलाई याद छ।
‘१९५० सम्म तल्लो बर्माको अवस्था यस्तै थियो। सरकारको उपस्थिति थिएन। दिउँसै लुटपाट हुन्थ्यो। १९४०–५० सम्म जापानी सेना बर्माबाट नजाँदासम्म स्थिति भयावह थियो,’ भीमबहादुर सम्झन्छन्।
भीमबहादुरले काम गर्ने बेलायती कम्पनी ठूलो थियो। पानी जहाजदेखि रेलसम्म बनाउने यो कम्पनीका गोराहरू उनको काम र वफादारिताको कायल थिए। त्यसैले उनलाई सन् १९५२ मा मोटर ग्यारेजको इन्चार्ज बनाइएको थियो। कम्पनीमा एउटै गाडी चलाउन तीन जना ड्राइभर नियुक्त थिए। कम्पनीमा ड्राइभर मात्र ५०–६० को हाराहारीमा थिए।
भर्खरै स्वतन्त्रता पाएको बर्मामा राजनीतिक गतिविधि तिब्र थियो। राजनीतिक पार्टीका नेताहरू उनको कम्पनीमा मजदुर संगठन निर्माण गर्न थाइरहन्थे। उनलाई हरेक राजनीतिक गतिविधिमा बोलाइन्थ्यो। उनलाई यो मनपरेको थिएन।
‘नुन गोराको खाने। अनि राजनीति गर्ने? मेरो आत्माले मान्दैन्थ्यो,’ उनले पुरानो कुरा सम्झिए। बढी नै किचकिच हुन थालेपछि उनले आमाको बहाना बनाउँदै जागिरबाट राजीनामा गरे।
‘त फोरम्यान भइसकिस्। सिंगापुर गएर दुई वर्ष काम गर भन्यो गोराले। सिंंगापुरमा हाम्रो शासन छ, त्यहाँबाट नेपाल पैसा सहजै लैजानसक्छस्। यहाँ बर्मेलीको शासन छ, सम्पत्ति लैजान पाउँदिनस् पनि भने,’ उनी विगत सम्झन्छन्।
भीमबहादुरले यो कुरा आमालाई बताएका थिए। ‘तर, आमाले मान्नु भएन। एउटा समुन्द्र तरेर आएका बुवा यही बिते। अर्को समुन्द्र तरेर मर्न जान्न। बरु घर नै जाउँ भन्न थाल्नुभयो। त्यसैले सिंगापुर काम गर्न गइन,’ उनले कहानी सुनाए।
यसबीच उनले मेमेऊमा गाडीको वर्कशप खोले। पैसा कमाए। १९६० मा त उनले मेमऊमा घर किनिसकेका थिए। तर, १९६२ मा सैन्य ‘कू’ भएपछि जुन्ता सरकारले विस्तारै सबैको सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान सुरु गर्यो।
उनको दाजुहरूको जागिर खोसियो। दिदीबहिनीको परिवारिक अवस्था पनि कमजोर बन्यो। यसपछि उनले कमाएको पैसा खर्च गरेर सबैलाई पहिले नेपाल पठाए। र, आफू १९७१ अर्थात २०२८ सालमा नेपाल फर्किए।
सैन्य सरकारको पालामा बर्मामा नेपालीहरूले भोग्नुपरेको दुःखकस्ट अहिले पनि उनको आँखा अगाडी नाच्ने गरेको छ। ‘हामीले आफैले कमाएको पैसा ल्याउन पाएनौं। ज्यान जोगाएर फर्किनुपर्यो,’ उनी भन्छन्।
अहिलेको सम्भ समाजमा आर्मीको सरकार समस्याको समाधान नभएको उनको निचोड छ। ‘आखिर त्यत्रो वर्ष सेनाले राज गर्यो। कुन बर्मेली जनता खुसी भए?’ बर्मेली सेनालाई उनको प्रश्न छ।