ओली र नेपालबीच ‘आइस ब्रेक’

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । पुस ५ गतेपछि दुई नेताबीच पानी बाराबारको अवस्थामा एकल संवाद हुन सकेको थिएन । सर्वोच्च अदालतले फागुनमा एमाले र माओवादी ब्युँताइदिएपछि पार्टी कार्यालय धुम्बाराहीमा सामूहिक भेटघाट भएको थियो । त्यहाँ कुरा नमिलेपछि नेपाल समूहले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको होे ।  

तत्कालीन नेकपा हुँदा गत वर्षको वैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । त्यसपछि नेकपा विभाजनको अवस्थामा पुगेकै बेला सर्वोच्च अदालतले फागुनमा पूर्वएमाले र माओवादी केन्द्रलाई साबिक अवस्थामा फर्काइदियो । सर्वोच्चको फैसलासँगै नेकपा विवाद एमालेमा सरेपछि दुवै नेता कठोर आरोपप्रत्यारोपमा ओर्लिएका थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो ।  

एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा केके विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ । ‘दुवै नेताले पहिलो चरणमा आफ्ना कुरा राखेको केही व्यक्तिगत कुराकानी गरेको र पार्टीगत संरचनामा ओलीले निसर्त पार्टीमा काम गरौं भनेको तथा नेपालले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाटै अघि बढौं भनेको बुझिन्छ ।

प्रकाशित मिति: : 2021-04-22 07:03:00

प्रतिकृया दिनुहोस्