जब हामी कुनै शेम्पू, क्रिम, लुगा वा फेसनसम्बन्धी विज्ञापनहरु टिभी वा पत्रपत्रिकामा देख्छौँ, त्यहाँ देखाइने चम्किलो अनुहार, बाक्लो कपाल, मिलेको जीउडाल र अझ केटाहरुको सिक्स-प्याक बडी- यस्ता कुराहरुले हाम्रो मस्तिष्कमा केआउँछ?
यस्ता कुराहरुले धेरैजसोको दिमागमा प्राय: एउटै कुरा आउनसक्छ- 'वाह कस्तो राम्रो ! ओहो, म पनि त्यस्तै हुन पाए।'
सबै हिसाबले उत्तम देखिने 'मोडल' र 'सेलिब्रेटी' हरूको 'डिजिटल' छविमा हामीलाई प्रभावित पार्नसक्ने शक्ति हुन्छ। यो केही हदसम्म हामी सबैले अनुभूति गरेका छौँ।
विज्ञापनमा व्यवहारमा भएभन्दा अत्यन्त सुन्दर वा सबल देखाएर प्रचार गर्ने शैलीविरुद्ध सन् २०१२ मा एउटी स्कुले किशोरीले आवाज उठाइन्।
संसारले नै सुन्नेगरी आवाज उठाउने ती किशोरी थिइन्- माइनको वाटरभिल भन्ने ठाउँकी जुलिया ब्लुहम। त्यति बेला उनी केवल १४ वर्षकी थिइन्।
त्यस बेला जुलिया नृत्य सिक्दै थिइन्। नृत्य कक्षाका धेरै साथीहरुले आफू र आफ्नो शरीरको बारेमा नकारात्मक टिप्पणी गरेको सुनेकी थिइन्। साथीहरूको प्रतिक्रिया र उनको 'स्पार्क' (एक स्वघोषित आन्दोलन- 'गर्ल–फ्युएल्ड एक्टिभिस्ट मुभमेन्ट') को भिडियो–ब्लगरको रूपमा गरेको कामबाट विज्ञापनको शैलीलाई चुनौती दिइन्।
विज्ञापन प्रशारण वा प्रकाशन गर्दा मिडियामा केटीहरूलाई नकारात्मक ढंगले प्रस्तुत गरिएकोमा पनि उनले विरोध जनाएकी थिइन्। उनको आवाज थियो, 'युवतीहरुलाई सञ्चारमाध्यममा सकारात्मक र यथार्थपरक सन्देश प्रवाहका लागि सकारात्मक रुपमा मात्र प्रस्तुत गर्नुपर्छ। यसका लागि सामूहिक आवाज उठाउनु आवश्यक छ।'
उनको अभियानको लक्ष्य यति मात्र थियो, 'प्रत्येक आम सञ्चारका माध्यमले केटीहरुको डिजिटल छवि देखाउन रोकिनुपर्छ, वास्तविक छवि मात्र देखाइनुपर्छ।' कसरी फोटोशपले केटीहरू र उनीहरूको शरीरको छविमा ठूलो प्रभाव पार्नसक्छ र उनीहरूले आफूले आफैँलाई कस्तो महसुस गर्छन् भन्नेबारे जुलियाले राम्रोसँग बुझेकी थिइन्।
वास्तवमा मानिस जस्तो छ, त्यही कुरा सञ्चारमाध्यमहरुले पनि देखाउन आवश्यक छ। त्यसले मात्र आजका किशोरकिशोरीको वास्तविक प्रतिनिधित्व गर्दछ भन्ने उनको भनाइ थियो। जुलियाले यही आवाज विश्वसामु उठाएकी थिइन्।
जुलिया र उनकी साथी इज्जी लब्बेले अप्रिल २०१२ मा 'सेभेन्टीन ' भन्ने म्यागजिनमा छापिएका विज्ञापनलाई लक्ष्यित गरे। उनीहरूले 'चेन्ज डट ओआरजी' (change.org) मा एक याचिका बनाई सोही म्यागजिनलाई प्रत्येक महिना एउटा वास्तविक फोटो छाप्न आग्रह गरे।
म्यागजिनमा उनीहरूको याचिका छापियो। त्यसबाट जे देखियो, उनीहरु आफैँ छक्क परे। याचिका पोष्ट भएको केही दिन नबित्दै २५,००० भन्दा बढी व्यक्तिहरूले उनीहरुको निवेदनमा हस्ताक्षर गरेर समर्थन जनाए।
त्यसको एक महिना नबित्दै उनीहरुको चर्चा अमेरिकाका चर्चित सञ्चारमाध्यमहरुसम्म फैलियो। अर्को महिना जुलियालाई न्यूयोर्कस्थित 'सीएनएन' र 'एबीसी नाइटलाइन' ले उनीहरुलाई बोल्नका लागि आमन्त्रण गरे। यसबीच उनको अभियानले आकार ग्रहण गरिसकेको थियो। धेरै किशोरी उनको अभियान- 'स्पार्क' मा जोडिइसकेका थिए। उनी र अन्य स्पार्क–सदस्यहरूले 'सेभेन्टिन ' म्यागजिनको मुख्यालयमा विरोध प्रदर्शन पनि गरेका थिए।
८६,००० भन्दा बढी हस्ताक्षर भएको उक्त प्रदर्शन र याचिकाले सेभेन्टीन म्यागजिनको तत्कालीन सम्पादक एनशोकेटको ध्यानाकर्षण गर्यो। उनले जुलिया र उनकी आमालाई त्यस अभियानबारे कुरा गर्न आमन्त्रित पनि गरे।
किशोरीहरूले चलाएको युवा–युवतीहरूको वास्तविक छवि मात्र प्रस्तुत गर्ने मागका कारण परेको दबाबको परिणाम स्वरुप सेभेन्टीन म्यागजिनले विज्ञप्ति निकालेरै घोषणा गर्यो- 'सबै प्रकारको सौन्दर्यलाई स्थान दिने छौँ। केटी र मोडेलको स्वस्थ र वास्तविक फोटोमात्र प्रस्तुत गर्नेछौँ।'
१४ वर्षकी किशोरी जुलियाले पुष्टि गरिन्- आँट गरेपछि के चाहिँ सम्भव छैन र ? उनको यो दृढ अठोट र अभियानकै कारण सञ्चारमाध्यमहरुले देखाइरहेको युवतीको नक्कली छवि नदेखाउने अवस्था सिर्जना भएको हो।
जुलियाबाट हामी सबैले सिक्न सक्छौँ- कुनै पनि गलत कुराहरु भइरहेको देख्दा वा कसैलाई अन्याय परिरहँदा हामी जोकोही पनि त्यसविरुद्ध आवाज उठाउन पछि पर्नुहुँदैन।
नारी शक्ति श्रृंखला ११,क्यान्सरपीडित बालिकाको अठोट (भिडियोसहित)
नारी शक्ति श्रृंखला ९. १७ वर्षको उमेरमै ‘महिनावारी’ विरूद्धको अभियानमा सक्रिय अमिका
नारी शक्ति श्रृंखला ८. २० वर्षको उमेरमै ‘साइबर बुलिङ’ विरूद्ध विश्वव्यापी नाम
नारी शक्ति श्रृंखला ७. सहस्राब्दीकी रानी र पत्रकारिताको भविष्य गेभिनसन
नारी शक्ति श्रृंखला ६. एउटा बन्दागोभीले बदलिएको दृष्टिकोण
नारी शक्ति श्रृंखला ५. युद्वलाई चुनौति दिइरहेकी एक ‘ब्लगर’
नारी शक्ति श्रृंखला ४. १४ वर्षको उमेरमा सफल उद्यमी
नारी शक्ति श्रृंखला ३.दिदीबहिनीको अनसनले फेरिएको वालीको रूप (भिडियो)
नारी शक्ति श्रृंखला २.जसको हठले विश्व तरंगीत भयो
नारी शक्ति श्रृंखला १.मलालालाई अग्रिम शुभकामना