पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नुअघि तामाङहरूको बसोबास भएको कान्तिपुर अधीनस्थ नुवाकोट र तिमाल क्षेत्र विजय गरेका थिए। पछि, १८२२ चैतमा कीर्तिपुर जितेपछि त्यहाँका नेवारको नाक र ओठ काट्न तामाङहरूलाई प्रयोग गरिएको लिखत फेला परेको छ।
सन्धि–सम्झौता अनुसारको वार्षिक हर्जाना रकम तिर्न भोटले आलटाल गरेपछि नेपाल–भोट युद्ध छेडियो। नेपाली सेनाले भोटमा पुगी त्यहाँका गुम्बामा लुट मच्चाएपछि चीनसमेत नेपालसँग चिढियो। चीनले भोटको साथ दियो। भोट र चीनले नेपाली सेनालाई दपेट्दै ल्याउँदा उनीहरूको संयुक्त फौज नुवाकोटको बेत्रावतीसम्म आइपुगेको थियो।
वि.सं. १८४९ मा भएको यो युद्धमा बहादुर शाहले अंग्रेजसँग गुहार मागेका थिए। त्यसैबेला अंग्रेजका दूत बनेर विलियम कर्कप्याट्रिक आएका थिए। तर, नेपाल–चीनबीच सम्झौता भई युद्ध सकिइसकेको थियो। उनी करीब एक महीना बसेर फिर्ता भएका थिए। (नेपाल, ज्ञानमणि ‘नेपालको महाभारत’–२०५२ः५१)
कर्कप्याट्रिकले नेपाल बसाइमा एक पुस्तक ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाउल’ लेख्न भ्याए। यो पुस्तकले नेपालको इतिहासका कैयौँ पाटाहरू उजागर गरेको छ। यसलाई नेपालको इतिहासको एक स्रोत–सामग्री मान्न सकिन्छ। (गौतम, डा. राजेश, ‘इतिहास लेखनको इतिहास’–२०५१ः३४०)
नेपाल आउँदै गर्दा कर्कप्याट्रिकले केही नेपाली अनुहार अनौठो किसिमका देखे। उनीहरू कर्कप्याट्रिकको भारी बोक्न पुगेका थिए। ती भरियाको नाक थिएन। यसबारे सोधखोज गर्दा कीर्तिपुर शहरलाई गोरखालीहरूले विजय हासिल गरिसकेपछि उनीहरूको नाक काटिदिएको जवाफ कर्कप्याट्रिकले पाए।
उनले आफ्नो पुस्तकमा कीर्तिपुर शहरमाथि विजय हासिल गर्न गोरखालीले धेरै श्रम, सीप, धन र जन खर्च गर्नुपरेको उल्लेख गरेका छन्। साथै, धेरै कष्ट पनि सहनुपरेकाले त्यसको प्रतिशोधस्वरूप त्यस ठाउँका बासिन्दालाई पक्री अमानवीय तरिकाले नाक काटिदिएको वर्णन कर्कप्याट्रिकले गरेका छन्। (कर्कप्याट्रिक, विलियम, ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाउल’–सन् १८११ः१६४)
कीर्तिपुरेहरू आत्मसमर्पण गर्न बाध्य
पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि जित हासिल गर्न नौ वर्ष लागेको थियो। १८१४ जेठ १९ गते कीर्तिपुरमाथि पहिलो पटक आक्रमण गर्दा उनले आफ्ना एक सुयोग्य सेनापति कालु पाँडेलाई गुमाएका थिए।