सिन्धुपाल्चोकमा इन्द्रावती नदी आसपासका गाउँबस्तीका प्रायः स्थानीयवासीहरू जस्तै कमलरत्न दनुवार पनि नदीकै गुणगानले भरिएको गाथा सुन्दै हुर्किए।
हिउँ पग्लेर बाह्रैमास बग्ने इन्द्रावती नदीले उनीहरूको खेतबारी हराभरा राख्दथ्यो र गाउँलेलाई वर्षेनि दुई पटक मनग्गे बाली पनि दिन्थ्यो।
एक हातमा माछा मार्ने बाँसको डण्डा र अर्कोमा आफूले हात पारेको शिकार बोकेर खालीखुट्टै हरियो-नीलो नदीको किनारैकिनार दगुरेको सम्झन्छन् दनुवार।
उनलाई सानै छँदादेखि नदीबाट माछाबाहेक अरू कुनै पनि चिज ल्याउनु अपशकुन हुन्छ भनेर सिकाइएको थियो। ‘एउटा सानो ढुंगा पनि ल्याउने हैन है त्यहाँबाट’ ठूलाबडाले हप्काएको अहिले पनि सम्झन्छन् कमलरत्न।
नदीबाट घरमा केही ल्याए त्योसँगै दुष्ट आत्माहरूले पनि घरमा डेरा जमाउँछ भन्नेमा उनीहरू विश्वास राख्थे। आखिर, उनीहरूको पालनपोषण गर्ने नदी नै उनीहरूको मृत आफन्तहरूको अन्तिम संस्कार गर्ने थलो पनि थियो