जुम्लाका विद्यार्थी अज्ञात रोगका कारण बिरामी, विद्यालय प्रवेशमा रोक

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

तातोपानी गाउँपालिका -७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी अज्ञात रोगले थला परेका छन्।

विद्यालयमा वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन्।

विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्तीका प्रधानाध्यापक जनक रावतले बताए।

'अज्ञात रोगले विद्यार्थी थला परेका छन्,' उनले भने, 'यसका कारण परीक्षा प्रभावित बनेको छ।' 

गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठनलगायत सबै प्रक्रिया समाप्त पारिएकाे बताए।

'बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ। बिद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ,' उनले भने।

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले जानकारी दिए।

'गाउँले अहिले निकै डराएका छन्। अज्ञात रोगले तीव्र रुपमा थला पार्न थालेको छ,'  उनले भने, 'तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ।'

लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अहिले छिमेकी गाउँमा समेत बिरामी देखा पर्न थालेको छ।

तातोपानी ७ का वडाध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएका छन्। कोरोनाको डरले आतंकित स्थानीयहरु अज्ञात रोगले थप सशंकित भएका छन्।

गाउँमा फैलिएको रोग नियन्त्रणका लागि सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्नेमा वडा अध्यक्ष रावतले बताए।

प्रकाशित मिति: : 2021-04-15 16:20:00

प्रतिकृया दिनुहोस्