जसपा सहमति : आफ्नै नेतृत्वमा सरकार!

आयोमेल

काठमाडाैं

धैर्यकान्त दत्त

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउन दलहरू कसरत गरिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) ले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने सहमति गरेको छ।

दुई दिनसम्म काठमाडौंमा चलेको जसपा पदाधिकारी बैठकमा नेताहरूबीच आफ्नै नेतृत्वको सरकार बनाउने विषयमा आन्तरिक सहमति भएको हो।

यद्यपि यस विषयमा जसपाले अन्तिम टुंगो भने लगाइसकेको छैन।

आइतबार र सोमबार बालकुमारीस्थित पार्टी कार्यालयमा चलेको पदाधिकारी बैठकमा पार्टी समायोजनका साथै सत्तासमीकरणबारे छलफल भएको थियो।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सुरूदेखि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा देखिएका छन्। जसपाले उठाएका रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग पूरा गर्न प्रधानमन्त्री ओली तयार रहेको र प्रक्रिया पनि अगाडि बढाइसकेकाले विपक्षमा जान नहुने महन्थ–राजेन्द्रको तर्क छ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव भने आफूहरूले उठाएका माग सरकारले पूरा गरे पनि प्रधानमन्त्री ओलीको बहिर्गमनका लागि पछाडि हट्न नहुने अडान लिइरहेका छन्।

दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा पनि महन्थ–राजेन्द्र र बाबुराम–उपेन्द्र पक्ष आ–आफ्नो अडानमा कायमै रहे।

प्रकाशित मिति: : 2021-04-13 15:34:00

प्रतिकृया दिनुहोस्