युक्रेन र रुसबीच सीमामा युद्धको अवस्था, युरोपमा ‘हाई अलर्ट’

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Indeednews
Photo : Indeednews

युक्रेन र रुसबीच बढ्दो सीमा विवादलाई लिएर पुरै युरोपेली देश ‘हाई अलर्ट’ मा बसेका छन्।

रुसी शैन्य विश्लेषकले दिएको चेतावनी अनुसार यदि अवस्थामा सुधार आएन भने यहि महिनाभित्र कोरोना महामारीका बीच विश्वले अर्को भिषण युद्धलाई आत्मसाथ गर्नेछ।

रुसले हालै विवादित सीमामा थप ४ हजार सेना तैनाथ गरेको छ। रुसको यो हर्कतपछि पुरै युरोप ‘हाई अलर्ट’ मा छ। यसले विश्व युद्धलाई निम्त्याउने खतरा बढेको विश्लेषकहरुले बताएका छन्। 

रुसका स्वतन्त्र विश्लेषक पावेल फेलगेनहरका अनुसार खतरा तिब्र गतिमा बढिरहेको छ। मिडियामा यो कुराको खासै चर्चा नभए पनि संकेत राम्रो नभएको उनले बताएका छन्। यी दुई देशबीच युद्ध सुरु भएको खण्डमा पुरै युरोप दुई खेमामा विभाजित हुने खतरा प्रबल छ।

विश्लेषक पावेलका अनुसार रुस र युक्रेनबीच युद्ध छेडिएको खण्डमा यसले विश्वस्तरको स्वरुप लिनेछ। अमेरिकी समर्थक नेटोको टोली हाल युक्रेनको पक्षमा छ। यसैले रुसले हमला गरेको खण्डमा नाटोसँग आवद्ध अन्य देश पनि रुसको विपक्षमा उत्रिने सम्भावना प्रबल छ। 

दुई देशबीच युद्धको सम्भावना बढेपछि अमेरिकाले हतियारले सुसज्जित पानीजहाज युक्रेन पठाइसकेको छ। रुसले अमेरिकाको यो कार्यवाहीप्रति आपत्ति पनि जनाएको छ। रुस यसअघि पनि अमेरिका र युक्रेनबीच बढ्दो सम्बन्धबाट चिढिएको थियो। 

क्रेमेलिनले युक्रेनको सीमा नजिकै सेनाको उपस्थितिलाई नियमित प्रक्रिया भनेको छ। उसले यसलाई युद्धको तयारी मान्नु अमेरिकाको भूल मानेको छ। तर, अमेरिकाले रुसको पछिल्लो गतिविधिलाई गम्भीरतापूर्वक हेरेको छ। 

युक्रेनका अनुसार सन् २०१४ यता रुसी आर्मीले उसको देशको १४ हजार मानिसको हत्या गरिसकेको छ। 

प्रकाशित मिति: : 2021-04-07 06:22:00

प्रतिकृया दिनुहोस्