कुलबहादुर गुरुङ बीपी विचार राष्ट्रीय समाजको सभापतिमा पुन:सर्वसहमत

नेपाली कांग्रेसका बरिष्ठ नेता कुलबहादुर गुरुङलाई बीपी विचार राष्ट्रीय समाजको अर्को कार्यकालका लागि सर्वसहमतले सभापति नियुक्त गरेको छ।

समाजको काठमाडौंमा बसेको तेस्रो साधारण सभाले गुरुङलाई थप अर्को कार्यकालका लागि सर्वसहमतिमा सभापति निर्वाचित गरेको हो। 

समाजको सभापतिमा पुन:नियुक्त भएपछि भावुक बनेका गुरुङले भने, ‘मेरो जीवन डाँडा काट्न लागेको घाम जस्तै भइसकेको छ। खुट्टा लर्वराउन थालेका छन्। जिब्रो लर्वराउन लाग्यो। युवा जमातले अग्रसर बनेर बीपी विचारको यो अभियानलाई अगाडी वढाउनु पर्यो। काँग्रेस बचाउनु पऱ्यो। प्रजातन्त्र जोगाउनु पऱ्यो।’ 

दुई दिने कार्यक्रमको उद्घाटन सत्रमा विशिष्ठ अतिथिको रूपमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले भने, ‘बीपीको विचार र चिन्तनलाई छोडेर हिँडेको कारण वर्तमानमा नेपाली काँग्रेस इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ।’ 

काँग्रेसलाई जीवन्त पार्टीको रूपमा पुनर्स्थापित गर्न बीपीको विचार मार्गमा आउनु पर्नेमा उनको जोड थियो। कार्यक्रमका अर्का विशेष अतिथि संविधानविद् वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले वर्तमान राजनीतिक परिस्थितिमा बीपी विचारको सान्दर्भिकता अझ् बढेको बताए।

उनले भने-‘ओली यही गतिमा अगाडी बढे उनी दोस्रो लेण्डुप दोर्जे हुनेछन्। देशको राष्ट्रियता संकटमा पर्नसक्छ। देशलाई बचाउन प्रजातान्त्रिक शक्ति बलियो हुन ज़रूरी छ। त्यसका लागि काँग्रेस बलियो हुनुपर्छ।’

काँग्रेसले बीपीको विचारलाई अंगिकार गर्दै नेपाली राजनीतिभित्र देखिएको अन्योलतालाई चिर्दै प्रजातन्त्रलाई बचाउन अग्रसर हुन जरूरी भएको उनको भनाई थियो। 

समाजका सह-सभापति गोविन्दराज जोशीले उद्घाटन सत्रलाई सम्वोधन गर्दै समाज गठन गर्नुपरेको औचित्य औल्याए। उनले भने, ‘बीपी कोइरालाले नेपाली काँग्रेसलाई स्थापना गर्नु भएको हो। काँग्रेसले बीपीलाई स्थापित गरेको हैन तर अहिलेका नेतालाई भने काँग्रेसले स्थापित गरेको हो भन्दै काँग्रेसले बीपीको विचार र चिन्तनलाई परित्याग गरेकै कारण पार्टीमा पुनस् बीपी विचार र चिन्तन स्थापित गर्नकै लागि हामीले यो समाजको स्थापना गरेर सक्रिय हुनुपरेको छ।’

महासचिव विनयध्वज चन्द, आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती गीता रेग्मी र राजनीतिक प्रस्ताव संस्थापक सदस्य लोकेश ढकालले प्रस्तुत गरेका थिए।

यस अवसरमा सातै प्रदेशका सभापतिले सातै प्रदेशका छुट्टाछुट्टै समूह निर्माण गरेर छलफलबाट निस्किएको निस्कर्षसहित आफ्नो प्रदेशको सांगठनिक गतिविधि प्रस्तुत गरेका थिए। यसरी विचार प्रस्तुत गर्नेमा दीपक लोहनी प्रदेश नं. १, चुन्निशरण यादव प्रदेश नं. २, खेमराज सेढाईँ बागमती प्रदेश, लुम्बिनी प्रदेशबाट अरूणसिंह राठौर र हस्तबहादुर मल्ल कर्णाली प्रदेश र प्रदेश नं. ७ बाट बीरबहादुर हमाल र गण्डकी प्रदेशबाट प्रतिनिधिको रूपमा डेकेन्द्रराज कँडेलले धारणा राखेका थिए। 

समाजको ६४ जिल्ला समिति र जापान शाखा र अमेरिकाबाट समेत सहभागिता रहेको थियो। समाजका केन्द्रीय सदस्य काँग्रेस नेता लक्ष्मण घिमिरे लगायत केन्द्रीय सदस्यसहित ५० भन्दा बढि जिल्ला सभापतिले मन्तव्य राखेका थिए। 

सत्रले महासचिव विनयध्वज चन्दले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन, कोषाधक्ष्य गीता रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लोकेश ढकालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित सर्वसम्मतिले पारित गरेको थियो। 

समापन समारोहमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले शुभ कामना मन्तव्य राखेका थिए। सभापति गरूङले सम्वद्ध सबैलाई धन्यवाद दिँदै साधारण सभा समापन भएको घोषणा गरे।

कार्यक्रमको सञ्चालन बीपी विचार राष्ट्रिय समाजका उपमहासचिव रामबहादुर गुरुङले गरेका थिए।

प्रकाशित मिति: : 2021-04-06 18:25:00

प्रतिकृया दिनुहोस्