देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ।
प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ। पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ। जात्राको पहिलो दिन आज पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी उपत्यकाका प्रमुख देवी देवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिन्छ।
आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामकान्त भट्टले पूजाआराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए। निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने छ।
निमन्त्रणा यात्रा पशुपति पश्चिममूलढोकाबाट जयवागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा आएर निमन्त्रणा सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।