कर्णाली प्रदेश–सरकारका तीन एमाले मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

नेपाल कम्युनिष्ट पार्टी एमालेकाे कर्णाली प्रदेश संसदीय दलकाे आइतबार बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति समेत गरेको छ। बैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी थिए।

'वर्तमान सरकारमा रहेका तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ। त्यो निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको छ,' सांसाद दानसिंह परियारले भने।

'अन्यत्र भन्दा कर्णालीका जनताको आवश्यकता अनुसार अघि बढ्न दल एकमत भएको छ', उनले थपे।

यता, संसदीय दलका नेता यामलाल कंडेलले चैत ४ गते भएको निर्णयमा हेरफेर नभएको बताएका छन्।

'चैत ४ गतेकै निर्णयका आधारमा दल अघि बढेको छ', उनले भने, 'आजको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भयो। अर्को बैठक आगामी चैत २४ गते बस्ने गरी निर्णय भएको छ।'

बैठकले नेकपा एमालेको एकतालाई जोगाउन पार्टी अध्यक्ष लगाएत बरिस्ठ नेताहरुलाई आग्रह गर्ने निर्णय समेत गरेकाे छ।

बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ। प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो। २४ गतेको बेठकमा समितिले विधान पेश गर्नेछ।

नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको छ।



कर्णाली प्रदेश–सरकार बनाउन एमालेको पहल, यामलाल कँडेलको मुख्यमन्त्री बन्ने तर्खर

प्रकाशित मिति: : 2021-04-04 16:25:00

प्रतिकृया दिनुहोस्