कर्णाली प्रदेश–सरकार बनाउन एमालेको पहल, यामलाल कँडेलको मुख्यमन्त्री बन्ने तर्खर

कर्णाली प्रदेश सरकार गठनका लागि प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले पहल थालेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । 

एमालेले समर्थन फिर्ता लिएपछि कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेकाे छ। उनी माओवादीकेन्द्रबाट मुख्यमन्त्री भएका थिए ।

एमाले संसदीय दलको चैत ४ गते बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यतिबेला एमालेकै माधव नेपाल पक्षका सांसद् रहेका प्रदेश मन्त्री प्रकाश ज्वालाले समर्थन फिर्ता नलिने बताएका थिए तर पछिल्लो समय माधव नेपाल समूह पनि गल्न बाध्य भएको देखिएको छ ।

एमाले संसदीय दलकाे आइतबारकाे बैठकपछि महेन्द्र शाही नेतृत्‍वको सरकारमा मन्त्री रहेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, दल रावलले राजीनामा गर्ने प्रदेशसभा एमाले संसदीय दलका मुख्य सचेतक गुलावजङ्ग शाहले बताए । साे बैठकले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गर्नेछ । 

एमालेले समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्री महेन्द्र शाही नेतृत्‍वको देश सरकार अल्पमतमा परेको छ । उनको सरकार ढल्ने पक्कापक्की देखिएकाे छ तर पनि उनी माधव नेपाल खेमाकाे प्रयाेग गरी सरकार जाेगाउन केही उपाय लाग्छ कि भन्ने अन्तिम प्रयासमा रहेको एमाले पक्षको आरोप छन् ।

एमाले एक्लैको बहुमत पुग्न एक सीट मात्र अपुग भए पनि एमालेले सो प्रदेश माओवादीलाई छाडिदिएको थियो । नेकपा बनेपछि एमालेको माधव नेपाल पक्ष माओवादीसँग निकट भएको थियो तर एमाले र माओवादीकेन्द्र अलग भइसकेपछि माधव नेपाल पक्ष पनि पार्टीकै लाइनअनुसार समर्थन फिर्ता लिन बाध्य भएको छ । अन्यथा निर्णय गरेमा नेपाल पक्षको सांसद् पद पनि संकटमा पर्ने अवस्था आउने छ ।  

प्रदेशसभा सदस्य दानसिंह परियारले कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको जानकारी दिए। 'सरकारलाई दिएकाे समर्थन फिर्ता लिनुकाे विकल्प छैन,' उनले भने, 'कर्णालीमा एमाले एक ढिक्का छ।'

यसअघि 'माधव नेपाल पक्षधर' भनेर चिनिएका सांसद् सुशील थापाले एमाले एक ठाउँमा उभिएर सरकारलाई दिएकाे समर्थन फिर्ता लिने विषयमा कसैकाे आपत्ति नरहेकाे बताए। 'एकदुईजना साथीहरु ऊ बेला रुष्ट हुनु स्वाभाविक नै हो। बृहत् छलफलले एमाले एकढिक्का भइसकेको अवस्था छ,' उनले भने, 'एमालेका मन्त्रीहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, दल रावलसँग पनि आन्तरिक रुपमा छलफल भइसकेको छ । अब एमालेकै नेतृत्वमा सरकार बन्ने छ।'

शाहीकाे सरकार ढालेर एमाले संसदीय दलका नेता कँडेल नै मुख्यमन्त्री बन्ने निश्चितप्राय: छ। नेपाल पक्षका सांसदहरुसँगकाे छलफल पछि एक–दुई दिनमै उनीहरुको पनि समर्थन रहेको भन्ने औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको सांसद् परियारले बताए ।

एमाले अध्यक्ष ओली पक्षधर मानिने एमाले प्रदेशसभा मुख्यसचेतक गुलाबजङ्ग शाह कर्णालीमा एमालेको बाहेक अरुको सरकार बन्ने परिकल्पना पनि गर्न नसकिने बताउँछन्। उनले भने, '४० जना सांसद्मध्ये  २० जना (सभामुख राजबहादुर शाहीसहित) एमालेका सांसद् रहेको प्रदेशमा एमालेको नबनेर कसको सरकार  बन्छ ?'

प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन्। त्यसमध्ये सभामुख राजबहादुर शाहीको संसदीय दलमा गणना हुँदैन । सभामुखले निर्णायक मत मात्र हाल्न पाउने हुनाले सरकार गठनमा पनि उनकाे खासै भूमिका रहँदैन । उनीबाहेकका १९ जनामध्ये 'नेपाल पक्ष' ले नाै जना आफूसँग रहेको दाबी गर्दै आएको थियो तर अब एमालेमा त्यस्तो गुट नरहेको र केवल एमाले मात्र हुने संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

यसअलावा माओवादी केन्द्रबाट सांसद बनेका धर्मराज रेग्मी पनि एमाले प्रवेश गरेका छन् । उनलाई माओवादीले कारवाही गरेको छैन ।  रेग्मीलाई माओवादी केन्द्रले कारबाही नगरेको खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ।

एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ। कर्णाली प्रदेश सभामा राप्रपाको एक सिट छ। प्रदेशसभामा माओवादी केन्द्रको १३ सिटमध्ये रेग्मी एमालेतिर गएपछि १२ जना बाँकी छन्।

प्रकाशित मिति: : 2021-04-02 09:00:00

प्रतिकृया दिनुहोस्