पञ्चायतले हत्या गरेकाे कृष्णबहादुर रानालाई शहिद घोषणा गर्न एमाले नेता बलम्पाकीको माग

पञ्चायती शासनमा हत्या गरिएका कृष्णबहादुर रानालाई अविलम्ब शहिद घोषणा गर्न नेकपा एमालेका केन्द्रिय सदस्य टेक बलम्पाकीले सरकारसमक्ष आग्रह गरेका छन्।

चौथो महाधिवेशन ९चौम० मार्फत भूमिगत राजनीतिमा होम्मिएका रानालाई ६ आश्विन २०३६ सालमा पञ्चायती शासकले बर्दिबास नगरपालिका–८ हात्तिलेडको जंगलमा हत्या गरेको थियो। 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा माओवादी केन्द्रबाट हालै नेकपा एमाले प्रवेश गरेका बलम्पाकी प्रदेश–२ का ग्रामिण जनताको धारणा बुझ्न हाल दौडाहामा निस्किएका छन्। प्रदेश–२ को ८ जिल्लाका ग्रामिण बस्ती डुल्ने क्रममा उनी शनिबार बर्दिबास नगरपालिका–८ हात्तिलेडस्थित ब्याँगखाडी बजारमा रहेको शहिद कृष्णबहादुर रानाको स्मारक स्थलमा पुगेका थिए। 

सरकारले हालसम्म रानालाई आधिकारीक रूपमा शहिद घोषणा गरेको छैन। कम्युनिस्ट नेता निर्मला लामा, मोहनविक्रम सिंह, विष्णुबहादुर मानन्धर, ऋषि देवकोटा९आजाद० सँगे राजनीतिमा होम्मिएका रानालाई सहिद घोषणा नगर्नु राज्यको कमजोरी भएको बलम्पाकीको भनाई थियो।

उनले भने, ‘उहाँले पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा बलिदान दिनुभयो। तर, अहिलेसम्म राज्यले उहाँलाई सहिद घोषणा गरेको छैन। यो दुःखको कुरा हो।’

उनले रानालाई तत्काल सहिद घोषणा गर्दै उनको शालिकसहितको स्मारक बनाइदिन पनि सरकारसमक्ष जोडदार आग्रह गरे।

प्रकाशित मिति: : 2021-04-03 19:44:00

प्रतिकृया दिनुहोस्