तस्वीरमा बुबा: मेरा मनका कथा 

निस्तब्द, शान्त तस्वीरमा मेरो बुबा 
एकोहोरो लगातार हेरिरहे झैं 
न त पात नै हल्लिए, न त पानी नै बगे 
तै पनि बुबा तस्वीरबाट 
मलाई निहारीरहेझैं लाग्छ 

कहिले थकित भएर बुबालाई हेर्छु 
“किन थाकिस्?” सोध्नु भए झैं लाग्छ 

फेरी तस्वीर नियाल्छु 
एक शान्त मुहार मन्द मुस्कान 
कहिले नथाक्ने तेजिला नयन 
मानाै तिनले भनिरहेका छन् 
अझै अघि बढ्नु छ, अझै धेरै काम गर्नु छ 
आत्मबल उँचो राख, हिम्मत नहार 
म ढुक्क छु मेरी छोरी 'तँ हिम्मतवाली छस्'

झसङ्ग हुन्छु, पुनः बुबालाई हेर्छु 
उही शान्त स्निग्ध मुहार 
एकाएक तस्विरमा हात फेर्छु, अनि भन्छु-
बुबा मलाई तपाइँको सार्है याद आउँछ
मन दुख्छ, आँशु थामिंदैन,
एक्लै बसेर रुन्छु, मन हल्का हुन्न तैपनि आफैलाई 
काममा अल्झाउँछु 
नदेखिने तर निको नहुने घाउ लाग्यो हे दैव 
कसरी बुझाऊँ यो दुखी मन?

ओहो ! कस्तो एकोहोरो भएछु 
बुबाको शान्त मुहार पुनः एकपल्ट निहार्छु 
मिठो अनि मन्द मुस्कान 
उही एकोहोरो हेराई 
त्यहाँ न त पात हल्लिन्छ, न त चरा चिरबिर गर्छन् 
न त झरनाको कलकल ध्वनि नै सुनिन्छ 
सुनिन्छ छ त आफ्नै हृदयको धुकधुकी अनि लामो निस्वास 
तर तस्वीर उस्तै शान्त छ

जुरुक्क उठ्छु मानाै आफूसँग बाचा मांगे 
बुबाको बचाई नै मेरो उद्देश्य हो 
उहाँ आफ्ना कृति मार्फत् जीवित हुनुहुन्छ 
ती कृतिलाई सम्भाल्नु पर्छ,
तिनलाई जनसमक्ष पुर्याउनु पर्छ 
आउँदा सन्ततिले बुबाका कृति पढ्न र मनन गर्न पाउँनै पर्छ 
अन्यथा तिनीहरुप्रति घोर अन्याय हुनजाला 
बुबाको इच्छामा पनि तुषारापात होला 
हुन्न अब चुपचाप बस्नु 

काँधमा ठूलो जिम्मेवारी आएको छ 
बुबालाई कृतिहरुमा जीवन्त राख्न 
दिनरात एक गर्ने बेला आएको छ
बुबाको विश्वासमा खरो उत्रिन
यो काम मैले गर्नै पर्छ 
बन्धु-बान्धवको सहयोग लिएर 
आफ्नो ध्येय पूर्ण गर्नै पर्छ 

पुनः बुबाको तस्वीरमा बिश्वासपूर्ण नजर दौडाउँछु 
बुबाको आँखामा आँखा जुधाउँछु 
अनि त त्यहाँ असिम  विश्वास देख्छु 
मुहारमा छरिएको मुस्कानमा विजय पताका फहराएको देख्छु 
तर अझै पनि चराहरु कराएका छैनन्,
नदी नाला बगेका छैनन्, हावाको गति रोकिएको छ 
त्यसैले पातहरु हल्लिएका छैनन् 
किनकि बुबा अब तस्वीरमा मात्रै हुनुहुन्छ 
अब ती आँखा कहिल्यै झिम्किदैनन्,
ती सेतै फुलेका केश कहिलै लहराउँदैनन् 
मुस्कान छरिरहेका ओठहरु कहिले खुल्दैनन् 

मात्रै सम्झनामा बुबा रहनु हुन्छ र रहिरहनु हुन्छ 
कहिले नहराउने, ननिभ्ने अखण्ड दियो जस्तै 
ज्ञानको ज्योति छर्दै उज्यालो फिंजाउँदै 
आउँदा पुस्ताले एकदिन धन्य हाम्रा हजुरबा भन्दा 
बुबाको मन्द मुस्कान उही हुनेछ

तर आँखामा असिम आनन्दको अनुभूति पक्कै देखिनेछ 
त्यही दिनको लागि अब काम थाल्नु छ 
बुबाका लाखौँ कृतिहरुको संरक्षण गर्दै 
पाठक समग्र पुर्याउनु छ 
आजै मैले संकल्प गर्नु छ 
मेरो छटपटिएको मनलाई शान्त पार्नु छ 
बुबालाई मैले श्रद्धा सुमन चढाउनु छ|


(सिक्किमका आठौँ शिखर पुरुष साहित्यकार उदयचन्द्र वशिष्ठ दिंवगत भएको ४५औं दिनमा कान्छी छोरी सम्झनाले लेखेको संस्मरण। ) 


                                       

प्रकाशित मिति: : 2021-04-03 19:06:00

प्रतिकृया दिनुहोस्