तिर्खाएको काठमाडौंमा मेलम्चीले दिएको खुसी

अनलाइनखबर

काठमाडाै‌ं

रवीन्द्र घिमिरे

मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आए पनि धेरै स्थानका धारामा पानी झरेको छैन । अनामनगर क्षेत्रका घरमा भने आइतबार दिउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ ।

‘काकाकुल’ काठमाडौंमा जतिबेला खोल्दा पनि धाराबाट पानी झर्ला भन्ने विश्वास यहाँका बासिन्दालाई थिएन । त्यसैले निरन्तर पानी आउँदा अनामनगर क्षेत्रका बासिन्दा खुसी छन् । सँगै प्रश्न गर्छन्, सधैं यसरी पानी आउँछ त ?

दुई वर्षदेखि पानी नआएको धारामा आइतबार दिउँसोदेखि लगातार पानी आउँदा अनामनगरकी गृहिणी गीता त्रिताल दंग छिन् । ट्यांकी भरिसक्यो, भर्नुपर्ने भाडाकुँडा भरिइसके । ‘कहिल्यै धाराबाट पुग्ने गरी पानी आएन, अहिले त २४ घण्टा नै आइरहेको छ’, कलकल बगिरहेको धारा खोलेर देखाउँदै उनले भनिन्, ‘सधैं त पानी के आउला र, आइदिए त गज्जब हुन्थ्यो ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको पानी वितरण गर्न थालेको हो । महांकाल, मीनभवन, खुमलटार, मैतिदेवी र अनामनगर क्षेत्रबाट अहिले मेलम्चीको पानी वितरण भइरहेको छ । अनामनगरमा क्षेत्रमा भने पाइलट प्रोजेक्टका रुपमा चौबीसै घण्टा पानी पठाइएको छ । पानीको अभावकै कारण शहरमा सास्ती भोगेकी उनी अब त्यो कम होला भन्ने आशामा छिन् । ‘पानी नआउने ठाउँ त बस्न नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘दुई वर्षसम्म धारामा पानी नखस्दा कम्ता सास्ती थिएन, अब त्यस्तो नहोला कि ?’

प्रकाशित मिति: : 2021-03-30 15:37:00

प्रतिकृया दिनुहोस्