होली मनाउन घरमा आए 'बहनोइ'

मधेसमा आगन्तुकलाई ‘पहुना वा मेहमान’ मानिन्छ। यद्यपि ‘पहुना’ भनेपछि ‘दामाद वा बहनोइ’ (ज्वाईलाई दामाद तथा भिनाजुलाई बहनोई भनिन्छ) भन्ने मनोविज्ञान स्थापित छ। दामाद र बहनोइ अति सम्मानित र आदरणीय कुटुम्ब हुन्। 

पहुनालाई घरका मात्र होइन, गाउँका सबै मानिसह सम्मान र इज्जत गर्दछन्। नाताअनुसार ढोग्ने र आशीर्वाद लिने/दिने शिष्टाचार विद्यमान छ। गाउँका मानिसले 'दामाद'/'बहनोइ'को कुशलमङ्गल सोध्ने, सत्कार गर्ने र खानाको लागि बोलाउने परम्परा अमूल्य देहाती संस्कार हो।

साला र सालीहरूका निम्ति बहनोइ (भिनाजु) हरू मनोरञ्जनका उपक्रम पनि हुन्। सालो/साली र बहनोइहरू बीच एकअर्कासँग हाँसोठट्ठा गर्ने परम्परा पुरातनदेखि निरन्तर छ। सामान्यतया वैवाहिकलगायतका कार्यक्रममा बहनोइलाई ‘रङ्ग लगाउने’ वा ‘दही चटाउने’ (मुखमा दही लेप्ने) मनोरञ्जनात्मक क्रियाकलाप नहुने कुरै हुँदैन। 

होलीपूर्व बहनोइको आगमन भएमा रङ्ग र हिलोजन्य उपहारसहित फर्किने सम्भावना प्रबल हुन्छ। होली मनाउन कसको घरमा 'बहनोइ' आएका छन् भन्ने कुरा युवाको चाँसोमा पर्दछ।

होलीको दिनको देहाती हास्यरसयुक्त एक प्रसङ्ग प्रस्तुत छ–

दृश्य : प्रथम  

'पहुना के बोलादीं बाबाजी, होली खेलेके बा' अर्थात् 'भिनाजुलाई बोलाइदिनुस्  हजुरबुबा होली खेल्नु छ' भन्दै  युवाको झुण्डले एक स्वरमा वृद्धसँग भनिरहेको थियो। ती वृद्ध खटिया (खाट) मा बसेर होलीको गीत मनमनै  गुनगुनाइरहेका थिए। 

युवाले ‘पहुना’लाई बाहिर बोलाइदिनुस् भन्दै वृद्धसँग आग्रह गरिरहेका थिए। वृद्धले यताउति हेर्न थाले। उनी मुस्कुराउँदै युवादलतर्फ हेरिरहेका थिए। साङ्केतिक रूपमा उनले टाउको दायाँ–बायाँ हल्लाउँदै ‘दामादजी’ अर्थात् ज्वाइँ बाबु हुनु हुन्न भनिरहेका थिए। 

भलाद्मी र उद्दण्ड दुवै प्रकृतिका मिश्रित युवादलले वृद्धको सङ्केतलाई स्वीकार गर्ने पक्षमा थिएन। क्रन्दन गर्न थाले। हल्ला मच्चाउन थाले। उनीहरूको चर्को स्वर देहातको शान्त माहोलमा सर्वत्र पुगिरहेको थियो।

यद्यपि वृद्धले धेरै विचार गरे। उनले युवाहको अगाडि ज्वाइँलाई उपस्थित गराउनु मनासिब नहुने ठाने। उनको आशङ्का स्वाभाविक थियो। उनले भने, 'दामाद जी नइखीं नु आइल बबुवा, जा लोगन ओह टोला, केहु ना केहु के घरे बहनोइ आइले होइहें' वृद्धले युवालाई ज्वाइँ नआएको बताउँदै पल्लो टोलमा जान सुझाए। 

युवामध्ये एकले भन्यो, “ना बाबाजी! पहुना काल्हु सँझिया खुनी आइल बानी, हमनी के थाह बा बाबाजी, मत भुलियाइ, बोलादीं।” 

पहिलो चूप नहुँदै दोस्रोले भन्न थाल्यो, 'बाबाजी हमनीं के दुई/तीन गोडा जातानी सन घर में देखे, पहुना ना होइहन त लवट जाएमसन, होई।' भिनाजु आएको कुरा आफूहरूलाई थाहा छ भन्दै घरभित्र जान दिनुस् यदि भिनाजु छैनन् भने हामी फिर्ता जान्छौं भन्न पनि छुटाएनन् उनीहरूले। 

युवाहरूको कोलाहल गुञ्जित भयो। सेनाले टार्गेटलाई घेरेजस्तै घरबाट उम्कन सक्ने सम्भावित बिन्दुहरूमा युवाको बटालियन तैनाथ थियो। रङ्ग र अबिर लिएका युवाहरूले वृद्धसँग देखाउँदै अन्य केही पनि भिनाजुलाई नलगाउने भनिरहेका थिए। स्वभावतः गोबर र हिलो लिएका युवाले शिकारीजस्तै घात लगाएर कुनाकप्चामा लुकेका थिए।

एकातर्फबाट चर्को स्वरमा हल्ला गुञ्जायमान भयो, ‘होदे बाड्न पहुना, कोला में लुकाइल बाड्न, टाटी फारके झाँकतारन।’  ऊ त्यहाँ कोलामा लुकेका छन् भिनाजु, टाटीको प्वालबाट हेरिरहेका छन् भन्ने केटाहरुले हल्ला मच्चाएपछि  त्यहाँ उपस्थित सबैको ध्यान हल्लातर्फ आकृष्ट भयो। कोही यता, त कोही उता दौडिन थाले। हल्लाखल्ला मच्चियो, ‘पकड–पकड, पोत–पोत’ जस्ता शब्द ध्वनि गुञ्जित भयो।

दृश्य : द्वितीय

युवाको होहल्ला पहुनाको कानमा सुरूमैं पुगिसकेको थियो। त्यति बेलादेखि नै उनी तनावमा थिए। घरका कोठाहरूमा उनलाई सुरक्षित महसुस भइरहेको थिएन किनभने घरका टाटीहरू माथिबाट एक/दुई फिट छोटो थियो। ढोकामाथिबाट पनि कोठामा छिर्न सक्ने सम्भावना प्रबल थियो। 

यदि युवाहरूको हुल घरभित्र छिर्‍यो भने पहुना कदापि उम्किने अवस्थामा थिएनन्। उनलाई सुरक्षित स्थानान्तरण हुनु सजिलो थिएन। भाग्यवश ससुरा हजुरबा बाहिर बसिरहेकाले युवाहरूको आक्रमण रोकिएको थियो। घरबाहिर अड्किएको थियो।

उहिले प्रायः घरपछाडि खरको टाटीले घेरेर ‘कोला’ बनाइएको थियो। महिलाको शौंचादिको सवालमा कोला नै एक मात्र संसाधन थियो। टाटीमा औंलाले थोरै चौडा पारेर सोहीबाट पहुनाले युवाहरूलाई देखिइरहेका थिए। हुड्दङ्गीहरूको मानसिकतालाई मूल्याङ्कन गरिरहेका थिए। युवाहरूको ध्यान चोरेर उनी अन्तर्ध्यान हुन चाहन्थे।

दुर्भाग्यवश, टाटीको फाँफडबाट उनको ‘पाइजामा’ प्रष्ट देखिइरहेको थियो। एक युवकको ध्यान टाटीतर्फ आकृष्ट भयो। पाइजामा देखा पर्‍यो । भिनाजु नै हुन् भन्ने कुरा यकीन भएपछि हल्ला भएको थियो।

सबै यताउति दौडिरहेका थिए। उफ्रिरहेका थिए। केटाहरूको एक हुल घरभित्र पनि छिर्यो । युवाहरू कराइरहेका थिए, ‘होने चलसन, केंवाडी खोलसन, पहुना कोला में बाड्न (उता जाउँ, ढोका खोलौँ, भिनाजु कोलामा छन् )।’ 

युवाको क्रन्दनले पहुना बेहाल थिए। केटाहरूले ढोकाको किल्ली खोल्ने प्रयास गरे। खुलेन। पहुनाले बुद्धि पुर्याएका थिए। कुंडी लगाइदिएका थिए। केटाहरूले टाटीको रस्सी खोलेर कोलामा प्रवेश गर्ने प्रयासमा व्यस्त भए। 

पहुना भ्यागुताजस्तो कोलामा उफ्रिन थाले। कम्मरमा गम्छा बाँधे। हातमा चप्पल लिए। हल्का निहुरिए। टाटीलाई लक्षित गरे । त्यसपछि गैंडाको जोशमा टाटीलाई चिर्दै र फाँड्दै बाहिरिए। तीव्र बेगमा गल्ली हुँदै भाग्न थाले। अगाडि पहुना दगुरिरहेका थिए। 

पछाडिबाट युवाको हुल पहुनालाई पछ्याइरहेको थियो। पहुनामाथि गोबर र हिलोको बौछार भइरहेको थियो। लखेट्दै एक युवकले अर्कोलाई भनिरहेका थिए, ‘कुछ गोडा होने से जासन आ कुछ गोडा हेने से जासन, चारु ओर से घेरल जाव’ अर्थात् केही उताबाट जाउ, केही यताबाट जाऊ, चारैतिरबाट घेरा हालौं भन्दै निकै बेरसम्म यस्तो चलिइरह्यो।

दृश्य : तृतीय   

पहुना अन्तर्ध्यान भइसकेका थिए। युवादल मन्दिरको प्राङ्गडमा एकत्रित भएको थियो। भुनभुन चलिरहेको थियो। एकले अर्कोलाई दोषारोपण गरिरहेका थिए। पहुना कहाँ लुकेका छन् ? कति बेला अन्तर्ध्यान भए ? भन्नेबारे सबै अनभिज्ञ थिए। 

पाँच समूहमा विभाजित भएर उनीहरू गाउँभरि फैलिए। कुनाकाप्चामा खोज्न थाले। पहुना कतै पनि भेटिएनन्। युवा हताश र निराश भए। थकित भए। जो जहाँ थिए, त्यहीं पहुनाको चतुराइको चर्चा गर्न थाले।

दृश्य : अन्तिम   

गोठमा गाई र भैंसीको हलचल भइरहेको थियो। शिशिर ऋतुको उत्तरार्द्धमा बिहान चीसो र दिउँसो कडा घाम लाग्ने गर्दछ। त्यसैले गाईभैंसीहरूलाई गोठमा बाँधिएको थियो। गोठनजिकै युवा गफिइरहेका थिए। गाईभैंसीहरूको ‘बाँ–बाँ’को आवाजसँगै खुट्टाको खड्बडले गोठ हल्लिइरहेको थियो। युवाहरूले के भयो ? भन्दै जाऊँ हेरौं भन्न थाले। गोठमा ढोकाको रूपमा जुटको बोराको पर्दा झुण्ड्याइएको थियो। केटाहरूले पर्दा हटाएपछि सबै कुरा बेपर्दा भयो।

पहुनाजस्तै कदकाठीका मानिस गोठमा थियो। यद्यपि उनलाई चिन्न सहज थिएन। गोठघरको एक भागमा गाईभैंसीहरू बाँधिएका थिए। अर्को भागमा परालको भुसले भरिएको थियो। सोही ‘भुसौली’ (भुस राख्ने घरलाई भुसौली भनिन्छ) मा पहुना लुकेका थिए। 

गोबर र हिलोले भिजेका पहुनाले भुसमाथि चढ्ने प्रयासमा उनको जीउभरि भुस टाँसिएको थियो। अचम्मको प्राणीलाई देखेर गाईभैंसीहरू बाँ–बाँ गर्न थालेका थिए। शायद, गाईभैंसीहरू पनि हलचल गर्दै पहुनालाई जिस्काइरहेका थिए। आनन्द लिइरहेका थिए। 

साँझको बेला थियो। पहुनाले कोला र भुसौलीमा लुकेको क्षण कहिल्यै नबिर्सने बताउँदै आत्मसमर्पण गरे। प्रायः होलीमा जो भाग्छन्, ऊ नै लक्ष्य बन्दछन्। दिनभरिको थकानले सबै पस्त थिए। एकापसमा होलीको चर्चासँगै हाँसो र ठट्टा हुँदै थियो। सोही बेला वयस्कहरूले ढोलक, हारमोनियम, नाल र झालको तालमा गाइरहेको होलीको गीतमा सबैजनाको ध्यान गयो। पहुनासहित युवाहरूले होलीको साङ्गीतिक कार्यक्रममा सहभागी भए। तालीका साथै जोगिरा सर्रर्र…… को लयमा लय मिलाऊँदै साथ दिन थाले।

 

प्रकाशित मिति: : 2021-03-27 22:30:00

प्रतिकृया दिनुहोस्