'भाउअ उठ्ठैनस्, बेल (घाम लाग्याे) आग्या त। अबेला भैगाे', हजुरआमाले ढाेका ढकढक्याउनु भाे।
म जुम्लाबाट ट्याक्टरमा काठमाडौं जाँदै गरेकाे सपना देख्दै थिएँ। भर्खर कलंकी पुगेकाे थिएँ। हजुरआमाले ढाेका ढक्ढक्याउदा झसङ्ङ भएँ। म त ओच्छ्यानमै रहेछु।
मलाई जहिले पनि बिहानपखकाे निद्रा औधी प्याराे लाग्छ। सिरक च्यापेर एकछिन त सुत्न दिनू भन्दै कड्किए। मैले केही बेर अघि देखिरहेको सपनाकाे निरन्तरता चाहिरहेकाे थिएँ। जुन मेरा लागि असम्भव नै भइदियाे।
जुम्लातिर जाैँ काटिसक्ने बित्तिकै राेपाइँकाे चटाराे सुरु हुन्छ। चटाराे यति धेरै हुन्छ कि 'मान्छे मरिहाल्याे भने पनि गुटुमुटु पारेर काममै जानुपर्छ' भन्ने छ।
राेपाईंकाे लागि खेतमा पानी लगाउन जान पर्ने थियाे। पढाइसँगसँगै घरकाे सम्पूर्ण कामहरु गर्नुपर्थ्याे। बाबा व्यापारकाे लागि घर बाहिर हुने हुनाले प्राय: घरकाे काम मैले गर्नुपर्थ्याे।
त्याे बेलामा दाजु उच्च शिक्षा अध्ययन गर्न पाेखरामा हुनुहुन्थ्यो। घरमा कसैकाे पनि भरपर्दाे खाले जागिर थिएन। बाबा गलैँचा, राडीपाखी, कम्बल, केही जडिबुटीहरुकाे व्यापार गर्न सधैFजसाे घरबाहिर हुनुपर्थ्याे।
मेराे र भाइकाे किताबकापी, लत्ताकपडा र घरमा चाहिने अत्यावश्यक सामानहरु किन्न अनाज बेच्न पर्थ्याे। त्यसैले पनि खटेर खेती गर्न पर्थ्याे।
दाजु दशैँ बिदामा मात्र घर आउने गर्नुहुन्थ्याे। वर्षमा एक पटक मात्र घर आउने दाजुले घर नछाेडिन्जेल मलाई र भाइलाई तनाव हुन्थ्याे। दाजुले मलाई यसले राम्राे पढेन भनेर सधैँ चिन्ता गर्नुहुन्थ्याे।
दाजु घर आएकाे बेला भाइ र म खूब पढेजस्ताे गरेर देखाउन खाेज्थ्याैँ। खाना खाइसकेपछि घरमा सबै जना गफ गर्न थाल्थे। म र भाइ पढ्न भनेर काेठामा जान्थ्याैँ।
काेठामा गएर पढ्नु त त्यस्तै हाे, बरु भाइ र मेराे केही न केही कुरामा झगडा गर्न थाल्थ्यौँ। मलाई किताब खाेल्नेबित्तिकै निद्रा लाग्थ्यो। यस्ताे लाग्थ्याे– निद्राकाे औषधि नै किताब हाे।
भाइ र म घरकाले सुतेकाे देख्छन् कि भनेर पालैपालो सुत्ने गर्थ्याैं। उताबाट घरकाे काेही हिँडेकाेकाे आवाज सुन्नेबित्तिकै जाे सुतेकाे छ, उसलाई उठाएर दुबै जनाले पढिरहेको जस्ताे अभिनय गर्थ्याैं।
कुनै दिन त दुबै जना सुतिहाल्ने रहेछौँ। अनि बेस्सरी गाली भेट्थ्याैँ। याे अभिनय धेरै दिन टिक्दैनथ्याे।
दाजु सधैँ राम्राे पढ्ने, जहिले स्कुल फस्ट हुने। भाइ पनि राम्रै पढ्थ्याे तर म भने कहिले पढ्न नखाेज्ने। परीक्षामा जहिले लास्ट हुन्थेँ। दाजुले मैले पढ्दै पढेन भनेर बेला–बेलामा मलाई तर्साउन बाबासँग सल्लाह गर्नु हुन्थ्याे।
भन्नुहुन्थ्यो, 'बुबा यसले जति गर्दा पनि नपढ्ने भाे, बरु यसकाे डटपेन समात्ने एउटा औँला काटिदिनुपर्याे अनि याद आउँछ हाेला पढ्नुपर्छ भनेर।'
दाजु र बाबाले सल्लाह गरिरहँदा म मेरा औँला काटिएकाे कल्पना गर्थें र यसै काप्न थाल्थे। त्यति बेला देउताका धामी के काप्थे हाेला, जति म काप्थेँ।
म घरबाहिर असाध्यै साेझाे थिएँ। घरमा चाहिँ धेरै बद्मासी गर्थे। पढाइमा पनि खासै रुचि देखाउँदैनथेँ। चाहिनेभन्दा नचाहिने काम धेरै गर्थें। त्यसैले मैले बाबा, आमा र दाजुकाे हातबाट निकै पल्ट पिटाइ भेटेकाे छु।
स्कुलमा मलाई गणित विषय असाध्यै गाह्राे लाग्थ्याे। पाँच कक्षामा जति सिकाउँदा पनि मैले नजानेपछि दाजु रिसाएर पढाउँदै गरेकाे किताबले मेराे मुखमा हान्नु भयाे।
नाकमा चाेट लागेछ। रगत आयाे। रगतले मेराे गणित किताब पूरै भिजेकाे थियाे। त्यतिबेला मलाई साह्रै पीर परेकाे थियाे।
शायद म रिसले घमण्डी भएको थिएँ। मैले कैयौँ वर्षसम्म त्याे किताब सुरक्षित राखेकाे थिएँ। आज सम्झिँदा चाहिँ एकान्तमा मुस्कुराउँछु मात्र।
जतिसुकै गर्दा पनि नपढ्ने र अनेकौं गल्तीहरु दाहाेर्याइरहने बानीले बाबाकाे पिटाइकाे निरन्तरता मेरालागि बाबाकाे व्यापार जाने साल दाेहाेरिएझैँ हुन्थ्यो। कहिलेकाहीँ त बाबाकाे पिटाइले सीमा नै पार गर्थ्याे।
एक दिन रिसकाे झाेकमा मलाई घरकाे ओटालाे (आगन) बाट करिब पाँच, सात मिटर जति तल घरअगाडिकाे बारिमा फ्याक्नुभएकाे थियाे। मानाैँ कि म कुनै निर्जीव वस्तु हाे।
त्यति बेला माथिल्लो घरकाे ठूलीआमाहरु बारी गाेड्दै हुनुहुन्थ्यो। उहाँहरु पनि आत्तिएर 'लाै न नि छाेराे त मरिगाे' भन्दै मलाई अँगाल्न आउनुभएकाे थियाे। मैले अर्काे एकपटक पनि त्यसै गरी बाबाकाे हातबाट फ्याँकिने अवसर पाएकाे छु। घरमा भएका अनावश्यक वस्तु फ्याँकिएझैँ।
उसाे त कहिले नपिट्ने आमाले छ कक्षामा फर्स्ट भइनस् भनेर काठकाे पिर्काले टाउकाेमा हिर्काउनुभएकाे थियाे। बाबासँग डराए पनि आमासँग खासै डर लाग्थेन। पिटाइ भेटिसके पछि म आफूलाई माथि पार्नलाई केही बेर बेहाेस भएकाे नाटक पारेकाे थिए।
पछि हजुर आमाले 'मेराे नाति मारिस्' भनेर आमालाई बेस्मारी गाली गर्नुभएकाे थियाे। आमा पनि साँच्चिकै मरेछ भनेर खुबै रुनुभएकाे थियाे तर जब म केही बेर बेहाेश भएर हाेशमा आएकाे नाटक गरेँ, 'अब कहिल्यै कुट्टैन मेरा छाेरा, नुपढ्या नुपडलास् बरु' भन्दै आमाले अँगालाे मारेर रुन थाल्नुभाे।
त्याे दिनपछि मैले आमाकाे कुटाइ कहिल्यै खाइनँ। अनि मलाई लाग्याे– अभिनय गरिरहनुपर्छ। त्यसै भनिएकाे रहेनछ, 'निदाएकाेलाई उठाउन सकिन्छ। निदाएकाे अभिनय गर्नेलाई सकिँदैन' भनेर।
बच्चा बेलामा मलाई घरमा भएका सामानहरु बिगार्न र भत्काउन साह्रै रहर लाग्थ्यो। कति त भत्काएर बनाउथेँ। कति बिग्रेको बिग्रेकै हुन्थ्याे। आमाले घरमा सानाे दाेकान बनाउनुभएकाे थियाे। चुराेट, साबुन, मिठाइहरु बेच्नु हुन्थ्याे। म भने दाेकानबाट सामानहरु चाेरेर अरुलाई बाँडिदिन्थे।
पछि कताबाट घरकाले थाह पाउथे मस्तै गाेदाई भेट्थे। म पनि ज्ञानी बालक त थिइन नि। मेरो पनि बालसुलभ चकचक थियो। पिटाइ खान्थे, रुन्थे, यस्ताे गर्न नहुने रहेछ लाग्थ्याे। फेरि सबै कुराहरु बिर्सन्थे र गल्ति दाहाेर्याइरहन्थे।
दाजुले कति रहरले खेल्न मन लागेर याैटा क्यारेम्बाेर्ड बनाउनु भएकाे थियाे। मलाई के सुर चल्याे मैले त्याे बाेर्ड फुटाइदिए। मेराे याैटा साथीले मलाई किला चाहिएकाे छ यार त सँग छ भने दे न भनेकाे थियाे।
मैले त्याे बाेर्डका किलाहरु निकालेर उसलाई दिएकाे थिए। मैले पछि त्यसकाे प्रतिफल पनि राम्रै भेटेकाे थिए।
बाबा र दाजु रिसाएर मलाई डाेरीले हात खुट्टा बाँधेर झुन्ड्याइ दिनुभएकाे थियाे। म मेराे घरबाहिरकाे दुईवटा ढाेकाकाे बीच्चकाे काठमा झुण्डिएको थिएँ। एउटा लाैराेले दाइ, भाइ र बाबाले पालैपालाे पिट्नुभएकाे थियाे।
पछि कताबाट हाे कुन्नी साइलाे बुबा आएर फुकाउनुभएकाे थियाे। यी त प्रतिनिधि घटनाहरु मात्र हुन्, मलाई याद भएका। सामान्य कुटाइ त कति भेटियाे भेटियाे, के लेखाजोखा गर्नु।
बच्चा बेलाकाे साेच। स्वभाव नै चञ्चले हुन्छ। अन्जानमा गल्ती गर्न मन लागिरहन्छ। अब त भाे गल्ती गर्दिनँ भन्ने साेच्दासाेच्दै फेरि गल्ती गरिन्छ।
बच्चा बेलामा पढ्न पनि खासै कसैलाई मन लाग्दैन तर कुनै पनि बालकले गरेकाे अन्जान गल्तीकाे र नपढेकाे सजाय त्यसरी दिँदा त्याे अबाेध बालकको मनाेदशा कस्ताे हुन्छ हाेला? उसले आफ्नाे स्वर्णिम बालापनलाई कसरी व्यतित पार्छ हाेला? ऊ आफ्नाे बालसखाहरुसँग कसरी प्रस्तुत हुन्छ हाेला?
'फेरि कहाँ आउँछ र घुमेर त्याे बालापनकाे उमेर' वसन्त सापकोटाले पक्कै पनि धेरै साेचेर सम्झेर याे गीत लेख्नु भएकाे हाेला।
बच्चाकाे मनाेभावना बुझ्ने र बच्चालाई उसकाे चाहनाअनुरुप हुर्किन दिने खाले थुप्रै सिनेमाहरु पनि बनेका छन्। यस्तै कथामा आधारित एउटा भारतीय सिनेमा अभिनेता आमिर खानद्वारा अभिनित 'तारे जमिन पर' मलाई औधी मन पर्छ।
फेरि यस्तो दूरदराजको गाउँमा बालबालिकालाई माया गरी गरी पढाउनुपर्छ र कडा सजाय दिनुहुन्न भन्ने ज्ञान नहुनु मेरा बाआमाको अपराध ठान्दिनँ। उहाँहरुलाई यी सबै गर्नुकाे पछाडि छाेरा राम्रो पढाेस्, बद्मासी नगराेस्, ज्ञानी बनाेस्, असल बनाेस् भन्ने नै थियाे हाेला।
बरु त्यस्ताे हुनुमा यो राज्यको दोष हो। बच्चालाई पिट्नुहुन्न, प्रेमले सम्झाउनुपर्छ भनेर राज्यले कहिल्यै केही पनि सिकाएन। उहाँहरु त यसै गरी शिक्षित भई आउनुभएको हो। जे जान्नुभयो त्यही गर्नुभयो।
मेराे आमा र बाबा आफू नपढेकाे भएपनि छाेराहरु पढाउने कुरामा हर काेसिस गर्नु हुन्थ्यो। उहाँहरुलाई छाेराहरुले राम्राे पढुन् भन्ने साेच सधै रहन्थ्याे। त्यसैले त बाबा गलैंचा बाेकेर गल्ली र गल्छेडाहरुमा चिसा दिनमा पनि पसिना काडेर शरीर ताताे बनाइरहनु हुन्थ्याे।
सधैं भरि प्रायःजसो कुटाई खानु पर्ने कारणहरुमा सबैभन्दा महत्त्वपूर्ण मेराे सामानहरु चाेरीहुनु थियाे। त्याे बेलामा स्कुलमा कुन चाहिँ चाेर थियाे कुन्नि, मेराे सबै सामान चाेरेर लैजान्थ्याे। उसले किताब, कपी, डटपेन, पेन्सिल, इरेजर कहिले त झाेलै चाेरेर लैजान्थ्याे।
यतिसम्म कि मैले लगेकाे राेटीसम्म कहिले खान पाउँथिनँ। कुन बेला चाेर्थ्याे मैले कहिल्यै पनि थाह पाउथिनँ। हरेक दिनजसाे नयाँ सामान लिएर जान्थेँ, चाेरले चाेरेर लैजान्थ्याे।
चाेरी नहाेस् भनेर ममीले मेराे डटपेनमा डाेरी बाँधेर घाँटीमा झुन्ड्याएर पठाउनुहुन्थ्याे। कहिले झाेलामा बाँधिदिनुहुन्थ्याे तर पनि चाेरले कसरी कसरी चाेरी हाल्थ्याे।
हाम्राे घरमा प्राय:जसाे भैंसी हुन्थ्याे। भैंसी चराउन जाँदा पूरा सानका साथ भैँसी चढेर गइन्थ्याे। बाबाले देखेपछि गाली गर्नुहुन्थ्यो। कतिचाेटी भैंसी चढ्ने बेलामा चिप्लेर लडियाे लडियाे, हिसाबकिताब छैन। घरमा भन्याे, उल्टै कुटाई खाइन्थ्याे।
त्यसैले त जतिसुकै चाेट लागे पनि घरमा भनिन्थेन। बरु निद्रामा बर्बराउँदै भएपनि खटाइन्थ्याे। भैंसी चराउन गएकाे बेला भैंसी बसेकाे पानीकाे फाेहाेर आहालमा साथीहरु बटुलेर नुहाउने गरिन्थ्याे।
फाेहाेर पानीमा नुहाएरै हाेला मलाई त्याे बेला शरीरै भरि लुताे लागेकाे थियाे। चिलाउथ्याे। कन्याउदा रगतै आउथ्याे। फेरि लुताे लागेकाे बेला कन्याउँदा साह्रै मज्ज लाग्ने।
त्याे बेलामा अहिलेकाे जस्ताे सुबिधा सम्पन्न अस्पतालहरु थिएन। औषधिहरु पनि खासै केही पाइन्थेन। घरायसी औषधि प्रयाेग गर्नुपर्थ्याे।
घरायसी औषधिहरुमा राताे खुर्सानी, अरिङ्गालकाे दाना, घुच्चिच्याउ जस्ता जडिबुटी हुन्थे। आमाले सबैलाई पिसेर लेदाे बनाउनु हुन्थ्याे। त्यही लेदाे मेराे घाउमा लगाइदिने गर्नुहुन्थ्याे। असाध्यै पाेल्थ्याे। म सारा गाउँ थर्किने गरेर चिच्याउँथेँ। अहिले सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ।
घाउ बल्ल बल्ल निकाे हुन लागेकाे हुन्थ्याे म फेरि कि त भैंसी चढेर कि घाेडा चढेर लड्थे। रगत बग्न थाल्थ्याे। अनि फेरि उहीँ लेदाे लगाउनु पर्थ्याे।
निमावि स्कुलबाट सात क्लास पास भैसकेपछि आठ क्लास पढ्न माबि स्कुल जानु पर्थ्याे। घरबाट स्कुल पुग्न एक घण्टा र फर्किन एक घण्टा लाग्थ्याे।
बर्खामा साथीहरुसँग मिलेर बाटाेमा स्याउ, आरु, ओखर, काँक्रा हरु चाेरेर खाने गर्थ्याैं। त्याे बेला सबै साथीहरुसँग खाजा खाने पैसा हुन्नथ्याे। मलाई आमाले घरकाे राेटी बाेकेर लैजा त्यहि खानु भन्नु हुन्थ्याे। म हजुरआमासँग मिलेर घरबाट चामल, सिमी चाेरेर लैजान्थे। पसलमा बेचेर खाजा खाने पैसा जुटाउथे।
म हाइस्कुल जाने बेलासम्म निकै बुझ्ने भइसकेकाे थिए। घरकाे सम्पूर्ण कामहरु नबिराई गर्थें। सबैले ज्ञानी छ भन्थे। हाइस्कुलमा दाजुकाे निकै राम्रो छाप परेकाे थियाे।
दाजु एसएलसीमा स्कुलभरिमा एक जना मात्र पास हुनु भएकाे थियाे। हाइस्कुलका सरहरुले फलानाेकाे भाई भनेर मलाई खूबै माया गर्नुहुन्थ्याे।
जुम्लातिर जाडाेमा हिउँ पर्ने र अत्यधिक चिसाे हुने हुनाले तीन महिना स्कुलहरु बन्द हुने गर्छन्। मंसिर महिनामा म आठ कक्षामा पहिलाेचाेटी घरबाहिर काेहलपुर गएकाे थिए। दाजुकाे पनि त्याे बेलामा बिदा थियाे। त्यतिबेला काेहलपुरमा हाम्राे घर थियाे।
म केही दिन दाजुसँग र त्यसपछि एउटा सरसँग ट्युसन पढेकाे थिएँ। मलाई शहर औधी मन परेकाे थियाे। अब मलाई राम्राे पढेर जसरी पनि शहर आउन मन थियाे।
फागुनदेखि स्कुल लाग्थ्याे। त्याे बेलामा मलाई र घरकाे लागि चाहिने केही सामानहरु र पढ्नलाई चाहिने पाँच लिटर मट्टीतेल बाेकेर सुर्खेतबाट हिँडेर पाँचौ दिनमा जुम्ला पुगेकाे थिएँ।
बैशाखमा आठ कक्षाकाे परीक्षा भएकाे थियाे। म जिन्दगीमा पहिलाे पल्ट आठ कक्षामा प्रथम भएकाे थिए। परिवारमा सबै जना खुशी र गाैरवान्वित हुनुभएकाे थियाे।
नाै क्लासमा एक अंकले दाेस्राे भएकाे थिए। त्याे बेला मलाई निकै पीडा भएकाे थियाे। म बेस्सरी राेएकाे थिएँ। मैले झनै मेहनत गर्न थालेँ। त्यही मेहनतकाे परिणामले हाेला एसएलसीमा म मेराे स्कुलबाट प्रथम श्रेणीमा पास हुने दाेश्राे विद्यार्थी भएको थिएँ।
सायद उहाँहरुको विभिन्न सजायहरु जुन नकारात्मक नै किन नहुन तीनकै कारणले आज याे ठाउँमा छु। उहाँहरुलाई हरेक पल गाैरवान्वित महसुस गराइरहेकाे छु।
ती सबै कुराहरु उहाँहरुले जानेर बुझेर भन्दा पनि अज्ञानतावश गर्नुभएको हो। त्यस समय र परिवेशअनुसार यस्ता कदमहरु प्रचलित नै हुन्। म उहाँहरुप्रति कृतज्ञ छु।
(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक हुन्।)