म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ।
जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै र्आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो। ‘बेनीको बजार,जता मायाँ उतै छ नजर.. ’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो।
श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ। यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ।
लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए। उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन्।
विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर...’ बोलको गीत गाएका थिए।