थबाङका ५८ वर्षिय राजकुमार रोका मगर तत्कालिन जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर हुन्।
०४६ सालको विद्यार्र्थी आन्दोलनदेखि नै राजनीतिमा लागेका राजकुमार माओवादीले ०५२ सालदेखि भुमिगत आन्दोलन चलाएदेखि नै माओवादी छापामार बनेर होमिए। ०४५ सालमा थबाङ स्कुलबाटै एसएलसी पास गरेका राजकुमारका धेरैजसो साथीहरु ब्रिटिश आर्मी र सिङ्गापुरे लाहुरे छन्।
१० वर्षे शशस्त्र युद्धमा पुर्णकालिन होमिएका राजकुमारसँग जिवनका थुप्रै तिता र मिठा अनुभवहरु छन्। अहिले राजकुमारका ४ सन्तान छन्। उनी भन्छन्, 'राजनीतिमा लागेर ढिँलो बिवाह गरे।'
युद्धकालमा उनको घरसमेत भत्कियो। जसको कारण उनको परिवारनै तत्कालिन माओवादीले चलाएको जनकम्युनमा बस्नुपर्यो। उक्त जनकम्युन अहिले पुरानो भएर भत्किने अवस्थमा पुगिसकेको छ। राजकुमारको परिवार अहिले त्यहीँ कम्युन बसेको घरको एउटा कोठामा बस्दै आईरहेको छ।
'ट्रफल' खेती
हिजोआज राजकुमार 'ट्रफल' खेतीमा व्यस्त छन्। अजम्बरी जनकृषी सहकारी संस्थाले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा 'ट्रफल' खेतीको अवधारणा सार्वजनिक गरेसँगै उनी 'ट्रफल'को स्याहार सारमै दिन बिताईरहेका छन्।
थबाङको रचीबाङमा एसियाको दोस्रो र दक्षिण एसियाकै पहिलो ‘ट्रफल’ खेतीको सुरुवात गरिएको हो। सुरुमा प्रतिबोट २५ हजारका दरले विदेशबाट ३ सय बोट 'ट्रफल'का बिरुवाहरु ल्याईएको थियो।
'ट्रफल'बाट भएको जम्मा आम्दानी मध्ये ३० प्रतिशत बिउ उत्पालन गर्नेलाई, २० प्रतिशत त्रिभुवन विश्वविद्यालयलाई र ५० प्रतिशत खेती गर्ने अजम्बरी जन कृषि सहकारीले राख्ने सहमति भएको राजकुमारले बताए ।
प्रतिकेजी 'ट्रफल' ५ हजारदेखि १० हजार डलर सम्ममा बिक्री हुँदै आएको छ। सिजनमा प्रतिबोटले ढाईसय ग्रामसम्म फल दिने गर्दछ।विश्वविद्यालयका जडिबुटी विज्ञहरुको भनाईलाई उदृत गर्दै राजकुमार भन्छन्, 'ट्रफलको बोटमुनि फल्ने फल मानिसले भेटाउन सक्दैनन्। त्यसैले फल खोज्नका लागि विदेशबाट १२ देखि १५ लाख सम्म खर्च गरेर तालिम प्राप्त कुकुर ल्याउनुपर्नेहुन्छ।'
'ट्रफल'को प्रतिबोट ५० देखि ६० वर्षसम्म निरन्तर फल दिने पनि उनले बताए। थबाङको राचीबाङमा अहिले फागस, कोरिलस, आईलेक्स र रबर जातको 'ट्रफल' लगाईएको छ। बिशेषगरी 'ट्रफल'को वासनालाई विदेशी महंगा होटलहरुमा भिआईपीहरुले प्रयोग गर्ने बताईएको छ।
'ट्रफल'लाई १ वर्षमा ५ सय घण्टा घाम चाहिन्छ। जसले ३२ डिग्रि तापक्रमसम्म सहन सक्छ। ६ मिटरको दुरीमा यसको बिरुवा लगाउदा उपयुक्त मानिन्छ। 'ट्रफल' खेतीको अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी गईरहन्छन्।
अनुसन्धानको रुपमा लिईएको 'ट्रफल' खेती थबाङमा सफल भयो भने कृषकहरुलाई प्रशिक्षणको लागि फ्रान्समा लगिने बताईएको छ।