पूर्ण पी राई
हरेक वर्ष दशैं नजिकिँदा बहसमा सहभागी राईहरूले गर्ने प्रश्न निश्चित छन्। दशैं कसको हो, कसको होइन? राईले दशैं मान्न हुने कि नहुने? माने के हुने, नमाने के हुने?
यस्तै हरेक १० वर्षमा राष्ट्रिय जनगणना नजिकिँदै गएपछि राई शब्दमाथि बहस चल्छ। त्यति वेला पनि केही प्रश्न उठ्छन्। जस्तो, राई जाति कि पदवी? राई लेखाउने कि नलेखाउने? राई लेखाउँदा र नलेखाउँदा के हुन्छ? एकता कि विभाजन? तर, निष्कर्ष शून्य।
केही समयको कोकोहोलोपछि बहसकर्ता निद्रामा पर्छन्। दशैं सकिएपछि छोटो निद्रा, जनगणना सकिएपछि लामो निद्रा। उभयचर र सरिसृपहरू हिउँदमा हराउनुलाई जीवशास्त्रीहरू ‘हाइबरनेसन’ भन्छन्, ‘राई प्रवृत्ति’लाई नामकरण गर्नै बाँकी होला।
हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२औँ खेप जेठ÷असार २०७८ मा हुँदै छ। जनगणना अंकगणितीय तथ्यांक मात्रै नभएर नागरिकको पहिचानसँग पनि जोडिएको हुन्छ। जनगणनाबाट प्राप्त तथ्यांकले १० वर्षसम्म राज्यका नीति तथा कार्यक्रम निर्देशित हुन्छन्।
सामाजिक तथ्यांकको आधारमा राज्यका धार्मिक, भाषिक र जातीय नीतिहरू बन्छन् र फेरिन्छन्। सम्बन्धित तथ्यांकले समुदायको सामथ्र्यलाई पनि प्रस्ट्याउँछ। त्यसैले तथ्यांकमा आप्mनो विषय नछुटोस् र फरक नपरोस् भनेर जातिगत संघसंस्थाहरू सामुदायिक सचेतनामा लागेका छन्।