रमेश कुमार
उत्तरी छिमेकी चीनको वुहानमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) देखिएको २४ दिनपछि १० माघ २०७६ मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको पुष्टि भएको थियो। चीनमा संक्रमण विस्तार हुन थालेसँगै त्यसको असर नेपालको पर्यटन, द्विपक्षीय व्यापार र चिनियाँ कम्पनीले निर्माण गरिरहेका पूर्वाधार परियोजनामा देखिन शुरू गरिसकेको थियो। ११ चैत २०७६ मा कोरोना संक्रमणको विस्तार रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) शुरू गरेपछि त अधिकांश आर्थिक क्रियाकलाप ठप्प हुनपुग्यो।
बन्दाबन्दीको यस्तो बन्देज झन्डै चार महीना कायम रह्यो, ६ साउन २०७७ सम्म। त्यसपछि पनि विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा कायम राखे भने ३ भदौपछि काठमाडौं उपत्यकामा झन्डै एक महीना निधेषाज्ञा जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गराइयो। आवागमन, दैनन्दिन गतिविधि लगायत सार्वजनिक जीवन र बन्दव्यापार ठप्प पार्ने बन्दाबन्दीको लामो अभ्यासको परिणाम, नेपालको अर्थतन्त्रले झन्डै चार दशकपछि ऋणात्मक वृद्धि भोग्नपुग्यो।
अत्यासलाग्दो सपना जस्तो अन्योल र संकटको एक वर्ष बितिसकेको छ, तर महामारीबाट पूर्ण रूपमा पार कहिले पाइने हो भन्ने अझै निश्चित छैन। यद्यपि, खोप आइसकेकाले आशा जागेको छ। अर्थतन्त्रमा कोरोनाभाइरसको संक्रमण मत्थर हुँदै जाँदा कैयौं क्षेत्र पूर्ववत् स्थितिमा चलायमान हुन थालिसकेका छन्। तर, महामारीले व्यापार–व्यवसाय, रोजगारी तथा निर्माण क्षेत्रमा पारेको असर लामो कालसम्म रहने देखिएको छ। पर्यटनसँग सम्बन्धित व्यवसायहरू पुरानै लयमा फर्कन कति समय लाग्छ भन्ने त अझै अनिश्चित नै छ।