ब्राजिलमा कोरोना भाइरसको संक्रमण बढ्दो, एकै दिन ३ हजार भन्दा बढीको मृत्यु

एजेन्सी

रियो डे जेनेरियो
फाइल तस्वीर
फाइल तस्वीर

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झन् बढेको देखिएको छ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार यहाँ मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको जनाइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको समाचारमा उल्लेख गरिएको छ।

योसँगै यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ। प्राप्त समाचारअनुसार मंगलबार सम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन्।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो। ब्राजिलमा गत २४ घन्टामा ८० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ।

सो मन्त्रालयले जनाएअनुसार केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो।यहाँ अहिले सम्ममा १ करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ। दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो।

पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको समाचारमा जनाइएको छ।

यहाँका अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमितहरु रहेका छन् भने पछिल्ला दिनहरुमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-03-24 14:06:00

प्रतिकृया दिनुहोस्