जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिका-१ च्यामास्थित सुर्खेत-कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित आज चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गङ्गबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली छन्। सो क्षेत्रमा अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरलाई चेकजाँच गर्नेक्रममा पाटेबाघको छाला एक थान र साढे दुई किलो बाघको हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय बाँकेमा वन्यजन्तुको अङ्गसहित यसमा संलग्न व्यक्तिहरु फेला पर्दै जानेको सङ्ख्या बढदै गएको छ। गत महिनायता बाँकेमा प्रहरीले वन्यजन्तु तस्करीका सात वटा घटना फेला पारेको छ। सो अवधिमा प्रहरीले रेडपाण्डा, हात्ती, गैँडालगायत वन्यजन्तुको अङ्गसहित संलग्न व्यक्तिहरु फेला पार्दै आएको छ।रासस