राजनीतिक जीवनकै कठिन मोडमा माधव नेपाल !

लोकान्तर

काठमाडौं

चितवनबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल शुक्रवारसम्म माधवकुमार नेपाल पक्षका प्रतिबद्ध सदस्य थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा सांसदहरूका तर्फबाट सांसद पोखरेलले नै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफैं उभिएर बहस गरे। 

कानूनी पृष्ठभूमिका सांसद पोखरेलले माधव नेपालको साथ छाड्ने कुरा चितवनको राजनीतिसँग मात्र होइन राष्ट्रिय राजनीतिसँग पनि प्रत्यक्ष सरोकार राख्छ। चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि गृहजिल्ला हो। लामो समय चितवनमा एमाले जिल्ला अध्यक्षको नेतृत्व सम्हालेका र पछिल्ला दुईवटा निर्वाचनमा प्रत्यक्ष निर्वाचित पोखरेलले क्याम्प चेञ्ज गर्ने निर्णय माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति पनि हो। 

माधव नेपाल क्याम्पमा रहेका पोखरेल शनिवार एमाले संसदीय दलको बैठकमा सहभागी भएर पार्टी नेतृत्वलाई सघाउने वचन दिए। गुटगत भेलामा सहभागी भएकोमा प्रायश्चित गरे। पोखरेलले कित्ता परिवर्तन गरेको साइड इफेक्ट प्रचण्डको राजनीतिसम्म पुग्ने सम्भावना छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि बाध्यात्मक रूपमा आ–आफ्नो पार्टीमा फर्केका प्रचण्ड र नेपाल अहिले पनि अघोषित सहकार्यमा रहेको एमालेको संस्थापन पक्ष (अध्यक्ष केपी ओली पक्ष)को आरोप छ।

यो कुरालाई स्वयं प्रचण्डले मलजल गरिरहेका छन्। बिहीवार  सिन्धुली पुगेका प्रचण्डले माधव नेपालहरूले एमालेमा विद्रोह गर्ने र भविष्यमा सहकार्य हुने बताएका थिए। पटक–पटक निर्वाचन क्षेत्र फेर्दै चितवन पुगेका प्रचण्डले एमालेको कुनै पक्षको साथ लिँदा नै चुनाव जित्छन् भन्ने माओवादीको विश्लेषण छ। 

प्रकाशित मिति: : 2021-03-21 18:56:00

प्रतिकृया दिनुहोस्