युवराज घिमिरे
चार दशकसम्म दुर्गाप्रसाद तिम्सिना ‘कैदी’का रुपमा रहे भारतमा। उनी अपराधी ठहर भएनन्, किनकि हत्याको आरोपमा गिरफ्तार गरिए पनि अभियोगपत्र थमाइएन उनलाई। उनका आफन्त टाढा थिए। र, उनी कमजोर। त्यसैले ‘बन्दी’लाई नियमअनुसार अभियोग लगाउन र मुद्दा चलाउन राज्य बाध्य भएन।
विगत चार दशकमा उनको हैसियत केवल कैदीको रह्यो। उनी कहिल्यै अभियुक्त बनेनन्। अदालतले अपराध ठहर गरेन। तर, ज्यानमारा ठहर भएका अवस्थामा दिइने जन्मकैद अर्थात २० वर्षभन्दा दोब्बर सजाय भोगी उनी आइतबार घर फर्के, नेपाल। २०३७ सालमा उनी दुर्भाग्यको यात्रामा पुगेका थिए।
पश्चिम बंगालको ह्याम रेडियोमार्फत उनको समाचार बाहिर आयो, पहिलोपल्ट। पश्चिम बंगाल रेडियो क्लबका उपाध्यक्ष हिरक सिन्हा वकिल पनि भएकाले उनले कलकत्ता उच्च न्यायालयमा सार्वजनिक सरोकारको मुद्दा दायर गरे। न्यायालयले उनलाई तत्काल रिहा गर्न र उनको घर इलाममा पुगेको भिडियो पेश गर्ने आदेश दियो। शनिबार दमदम केन्द्रीय जेलबाट उनी रिहा भए।
उनलाई जेल बाहिरको संसार र खुला हावामा उपस्थिति सुनिश्चित गर्न लागिपरेको ‘ह्याम’ रेडियोले एकजोर नयाँ कुर्ता पाइजामा, र ८६ वर्षीय आमालाई मिठाइको प्याकेटसहित बिदाइ गरे। तर न्यायालयले उनको त्यो अवस्थाका लागि दोषीलाई दण्डित वा बाँकी जीवनयापनका लागि कुनै राशी या राज्यलाई दण्डित गरेन। १५ वर्षको ठिटोको सपना बंगालको जेलमा हत्या भयो। ऊ दोषी नभए पनि जेल पाएकाले भारी र ‘दोषी’ मनोविज्ञानका साथ स्वदेश फर्कियो। बाँकी जीवन कसरी बिताउलान् दुर्गा तिम्सिनाले?
आश्चर्य भारतमा राज्यद्वारा घटित यो न पहिलो अपराध हो, न तिम्सिना पहिला नेपाली नै हुन्। सन् १९८० को दशकमा काशीराम, एकजना नेपाली तीन दशकभन्दा बढी यसरी जेलमा बिताएर बाहिरिएका थिए। उनको मानसिक स्थिति र विस्मृतिका कारण घर परिवारबारे खासै उनलाई याद थिएन। तर, गाउँका केही व्यक्तिहरुसँग आसामका चिया बगानमा कामको खोजीमा जाने क्रममा सिलिगुडी रेल्वे स्टेशनमा प्रहरीले दुर्व्यवहार गर्दा खुकुरी देखाएपछि आफू जेलमा परेको भन्ने गर्थे उनी टुटेफुटेको हिन्दीमा।