अमेरिकाले प्रशान्त महासागर र दक्षिण चीन सागरमा आक्रमणकारी तथा प्रतिरक्षात्मक दुबैथरीका क्षेप्यास्त्र तैनाथ गर्ने भएकाे छ।
अमेरिकी जलसेनाको हिन्द–प्रशान्त कमान्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसनले चीन र रुसबाट खतरा भएको भन्दै चेतावनी दिएपछि यस्ताे निर्णय लिइएकाे हाे।
अमेरिकालाई प्रशान्त महासागरमा रहेको गुआमस्थित जलुेना अड्डाको चिन्ता छ। पोहोर साल मात्र चीनले गुआममाथि आक्रमण गरेको एक नक्कली भिडियो सार्वजनिक गरेको थियो । गुआममा एकीकृत प्रतिरक्षा प्रणाली स्थापित गर्ने अमेरिकाको प्रस्ताव हो।
समाचार एजेन्सी राेयटर्सका अनुसार क्षेप्यास्त्र तैनाथ गर्न अमेरिकी संसद्ले स्वीकृति दिने लगभग पक्का भइसकेकाे छ।
रक्षा मन्त्रालय पेन्टागनले इन्डो–प्यासिफिक डिटरेन्स याक्टअन्तर्गत एकीकृत वाय तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापनाका लागि लगभग ९ करोड ८० लाख डलर बजेटलाई स्वीकृति दिन अनुरोध गरेको छ ।
रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद नगर्नूः अमेरिका
भारत भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भारतलाई रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद नगर्न आग्रह गरेका छन्।
भारतीय समकक्षी राजनाथ सिंहसँग शनिबार भएको भेटमा अमेरिकी गठबन्धनका देशहरुले प्रतिबन्धबाट बच्ने हो भने रुसी उपकरणहरु खरिद गर्न नहुने बताएका हुन्।
भारतले रुससँग एस ४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने तयारी गरेकाे छ। एस४०० प्रणाली खरिद गरेकै कारण अमेरिकाले गतवर्ष टर्कीमाथि प्रतिबन्ध लगाएको थियो।
तर, रुसले भारतलाई एस४०० उपकरण प्रदान गरिनसकेको हुँदा अहिले नै प्रतिबन्धबारे छलफल नभएको उनले बताए।
रुसबाट प्रतिरक्षा सामग्री खरिद गर्नका लागि सन् २०१९ मै भारतले प्रारम्भिक भुक्तानीको रुपमा ८० करोड डलर बुझाइसकेको छ। मिसाइल ब्याट्रिको पहिलो सेट यसैवर्ष आइपुग्ने बताइएको छ।
गतवर्ष लद्दाखमा चीनसँग सीमामा भिडन्त भएपछि भारत अमेरिकासँग थप नजिकिएकाे छ। त्यसपछि अमेरिकाले भारतीय सेनालाई सर्भिलेन्स ड्रोन्स र जाडोमा चाहिने उपकरणजस्ता महत्वपूर्ण सामग्री उपलब्ध गराउँदै आएको छ।
रुस र चीनले बनाएकाे हतियार निर्यातमा गिरावट
रुस र चीनले बनाएकाे हतियार निर्यातमा गिरावट आएको छ। स्विडेनस्थित एक अनुसन्धान संस्थाले गरेकाे अनुसन्धानमा हतियारको निर्यातको मामिलामा पछिल्लो पाँच वर्षमा रुस र चीनकाे निर्यातमा गिरावट आएकाे छ।
रुसको हतियारको निर्यातमा २२ प्रतिशत गिरावट आएको छ। भारतसँग रुसको हतियार निर्यातमा ५३ प्रतिशत गिरावट देखिएको छ। यता चीनकाे ७.८ हतियारको निर्यातमा गिरावट आएको छ।
यति हुँदाहुँदै पनि दुबै देश सब–सहारा अफ्रिकी देशका ठूला सप्लायर बनेका छन्। पाकिस्तान, बंगलादेश र अल्जिरियाले सबैभन्दा बढी चिनियाँ हतियार खरिद गर्छ।
यता, अमेरिका, फ्रान्स र जर्मनीको ग्लोबल निर्यातमा वृद्धि भएको छ। अमेरिकाको ग्लोबल साझेदारीको ३७ प्रतिशत ओगटेको बताइएकाे छ। हतियारको आयातको मामिलामा मध्य पूर्वमा सबैभन्दा बढी वृद्धि देखिएको छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) का अनुसार सन् २०१६ देखि २०२० को बीचमा पछिल्लो पाँच वर्षको तुलनामा अन्तरराष्ट्रिय हतियारको बिक्रि स्थिर थियो।
अमेरिकामा करिब आधा (४७ प्रतिशत) निर्यात मध्य पूर्वमा हुन्छ जसमध्ये साउदी अरबले मात्रै २४ प्रतिशत अमेरिकी हतियार खरिद गर्छ। अमेरिकाले यतिबेला ९६ देशलाई हतियार वितरण गरिरहेको छ।
फ्रान्सको हतियारको निर्यात ४४ प्रतिशत छ, यस्तै जर्मनीको २१ प्रतिशतसम्म बढेको छ। इजराइल र दक्षिण कोरिया दुबैले आफ्नो निर्यात तीब्र रुपमा बढाएको छ। तर, दुबै अहिले पनि हतियार निर्यातको मामिलामा निकै साना देश हुन्।