एटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एशियाली समुदाय आक्रोशित

अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ।

अमेरिकी समय अनुसार गत मङ्गलबार भएको उक्त आक्रमणमा ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला रहेका थिए।

अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ। उक्त आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन।

सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र साङ्घातिक आक्रमणको अभियोग लगाइएको छ। प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ।

स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू ’यौन दुव्र्यसन’ मा परेको दाबी गरेका छन्। उनीसितबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन्।

कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ। तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत नदेखिएको बताइउको छ। आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ।

प्रकाशित मिति: : 2021-03-18 21:15:00

प्रतिकृया दिनुहोस्