अम्लिसोको मूल्य आउँदा उत्तरी मोरङका किसान खुसी 

तेजन खड्का

उर्लाबारी

राम्रो मूल्य नपाएर निरास भएका अम्लिसो उत्पादक किसान यो वर्ष मूल्य निरन्तर उकालो लागेपछि खुशी भएका छन्।

उत्तरी मोरङका साविकका आठ वटा गाविस (हालका मिक्लाजुङ र केराबारी गाउँपालिका र लेटाङ नगरपालिका) क्षेत्रमा अम्लिसोको ब्यावसायिक खेती गर्ने किसानहरु खुशी भएका हुन्।

गत वर्ष प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भएको अम्लिसोको मूल्य यो वर्ष प्रतिकेजी १३० रुपैयाँसम्म पुगेको छ।

२०७१ मा कल्पना गरे भन्दा राम्रो मूल्य पाएपछि उत्तरी मोरङको साविक वारङ्गी ६ हाल लेटाङ ७ का कृष्णप्रसाद लिम्बूले २० रोपनीमा अम्लिसो खेती विस्तार गरे। तर ०७२ मा बिक्री मूल्य ४५ रुपैयाँ भन्दामाथि जान सकेन।

१५ रोपनीमा खेती गर्दा खर्च कटाएर २ लाख रुपैयाँ कमाएका लिम्बुले ४ वर्षयता लगातार घाटा ब्योहोरे। यो साल राम्रो मूल्य आयो।

यो वर्ष  १५ क्विन्टल अम्लिसो उत्पादन गरेका लिम्बुले २ लाख रुपैयाँ प्राप्त गरे। समयमै राम्रो पानी परेकोले अम्लिसोको उत्पादन राम्रो भएको लिम्बुको भनाई छ। उनले अझै ५ क्विन्टल अम्लिसो बिक्री गर्न बाँकी रहेको बताए।

३० वर्ष अघि घर बढार्न र गाईबस्तुलाई घाँसको लागि अम्लिसो रोप्न थालेका लिम्बु २० वर्षयता भने ब्यावसायिक  रुपमा खेती गरिरहेका छन्। सोही गाउँका कमानसिंह राईले ५ रोपनीमा १३ क्विन्टल अम्लिसो उत्पादन गरे।

गत वर्ष ४० रुपैयाँ केजीले बिक्री भएको अम्लिसो यो वर्ष प्रतिकेजी ११० रुपैयाँले बिक्री गरे। १४ क्विन्टल बिक्री गर्दा उनले १ लाख ५४ हजार रुपैयाँ प्राप्त गरे।

उनले भने, ‘हाम्रो धान मकै तोरी गहुँ सबै यही हो।’ लेटाङ ७ वारङ्गीका गौरी तामाङले अम्लिसोको ब्यापार सुरु गरेको २९ वर्ष भयो। पहिले उनी गाउँ–गाउँबाट भरिया लगाएर ब्यापारका लागि लेटाङ बजार ल्याउँथे।

आफैं किसान र आफैं व्यापारी भएकोले राम्रो आम्दानी हुने गरेको बताउँदै तामाङले भने, ‘उहिले चामलसँग सरी(बराबर) अम्लिसो साटिन्थ्यो।’ ३ वर्ष अघिसम्म मूल्य नपाउँदा खेती नै छोड्न लागेका तामाङलाई यो वर्ष थोरै क्षेत्रफलमा खेती गरेकोमा पछुतो भइरहेको छ।

६ वर्ष पछि पहिलोपटक १३० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्न पाएको तामाङले बताए। उनले यो वर्ष ५ रोपनीमा मात्रै अम्लिसो खेती गरेका छन्।

अहिले गाउँ गाउँमा सडक पुगेको छ। किसानले घरबाटै अम्लिसो बेच्न पाउँछन्। मूल्य बढेपछि किसानमा पुनः उत्साह छाएको छ।

लेटाङ बजारमा किसानको अम्लिसो खरिदका लागि ५ वटा खरिद केन्द्र रहेका छन्। १० वर्ष यता ब्यापार गरिरहेका भएका रोहित शाहले भने, ‘यो वर्ष २ हजार क्विन्टल अम्लिसो भारत पठाउँदै छु। म जस्तै ब्यापारी लेटाङमा अरु ४ जना छन्।’

उनले लेटाङबाट मात्र झण्डै १० हजार क्विन्टल अम्लिसो भारत निकासा हुने बताए।

किसानले सुरुमा ८० रुपैयाँ किलोमा बिक्री गरेका थिए भने पछिल्लो एक महिनायता १२५ रुपैयाँ किलोसम्ममा बिक्री गरिरहेका छन्।

उनले   सरदर ८० रुपैयाँमा बिक्री गर्दा पनि लेटाङबाट  ५ वटा खरिद बिक्री केन्द्रले सरदर साडे ६ करोड रुपैयाँको अम्लिसो  बिक्री  गर्ने  गरेको बताए। 

प्रकाशित मिति: : 2021-03-18 16:55:00

प्रतिकृया दिनुहोस्