स्थायी राजधानीमा ६ करोडको अस्थायी संरचना, प्रदेश सभा तत्काल भालुवाङ सार्ने तयारी

प्रकाश आचार्य

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेको छ । 

प्रदेशको महत्त्वपूर्ण अंग प्रदेश सभा तत्काल दाङको भालुवाङमा सार्ने गरी ठूलो रकम खर्च गरेर संसद् बैठक सञ्चालन गर्न अस्थायी सभाहल (ट्रस्ट) बनाउन लागेको हो । 

६ करोड रूपैयाँको लागतमा प्रदेश पूर्वाधार प्राधिकरणले केही वर्षका लागि मात्र उपयोग हुने गरी अस्थायी संरचना बनाउन लागेको हो ।

प्राधिकरणले गएको फागुन २३ गते सभा हलका लागि टेन्डर आह्वान गरेको थियो । बैठक सञ्चालन गर्न सभा हल बनाउने र सचिवालयका लागि त्यहीँ रहेका विभिन्न संघ–संस्था र शैक्षिक संस्थाका भवन मर्मत गरी प्रयोगमा ल्याउने सरकारको योजना छ ।

स्थायी राजधानी भालुवाङमा अस्थायी संरचना बनाएर राज्य कोषको रकम खर्च गर्नुभन्दा स्थायी संरचना छिट्टो बनाउन लाग्नुपर्नेमा प्रदेशवासीको जोड छ ।

करोडौं रकम अस्थायी संरचनामा खर्च नगर्न प्रदेश सभाका सांसदहरूले समेत माग गरेका छन् । प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैँयाले दीर्घकालका लागि नभई केही वर्षका लागि मात्र ट्रस्ट सहितको भवन बनाउन लागिएको बताए ।

‘दीर्घकालीन समयका लागि त पछि अर्को भवन बन्ला, तर अहिले बनाउन लागिएको भवन केही वर्ष मज्जाले टिक्छ, स्थायी संरचना बनेपछि भवन अन्य प्रयोजनका लागि पनि उपयोग गर्न सकिन्छ,’ उनले लोकान्तरसँग भने । 

प्रकाशित मिति: : 2021-03-16 14:12:00

प्रतिकृया दिनुहोस्