जसपाको निष्कर्ष : देउवाभन्दा ओलीसँगै सहज !

बाह्रखरी

काठमाडाैं

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँगै सहमति कार्यान्वयन सहज हुने निष्कर्ष निकालेको छ । 

पार्टीको बैठकबाट उच्च तहमा छलफल गर्ने निर्णय गरेको जसपा र प्रधानमन्त्रीसहित नेकपा एमाले अध्यक्ष रहेका ओलीसँग भएको समझदारीअनुसार कार्यदल बनेर काम भइरहेको छ भने नेपाली कांग्रेस र नेकपा(माओवादी–केन्द्र)सँग समान्य वार्तामात्र भइरहेको छ । 

जसपाको बुझाइमा कांग्रेस सभापति देउवाले सहमति गर्न र गठबन्धन बनाउन जाँगरसमेत देखाइरहेका छैनन् । त्यसैले जसपाले सहमति हुन्छ भने वर्तमान प्रधानमन्त्रीसँगै ‘क्यास’मा सहमति गर्न सहज हुने निष्कर्ष निकालेको छ ।

“हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइसकेका छौं, प्रचण्डजीलाई पनि प्रधानमन्त्री बनाएका हौं र वर्तमान प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिएर प्रधानमन्त्री बनाएका हौं, तर अहिलेसम्म कसैले पनि मधेसका मुद्दामा भएका सहमति कार्यान्वयन गरेका छैनन्,”जसपा अध्यक्ष महन्थ ठाकुराका विश्वास पात्रसमेत रहेका नेता डा. सुरेन्द्र झाले भने, “हामी विगतका उधारो सहमतिबाट हैरान भएका छौं, अब हामी हताहतीमा सहमति गर्छौंं ।” 

उनले त्यो सहमति जहाँ हुन्छ त्यसैलाई जसपाको समर्थन रहने बताए ।

माग सम्बोधन भएपछि मात्र सहमति गर्ने हो भन्ने प्रश्नमा नेता झा विगतको अनुभवले त्यसो गर्न बाध्य पारेको बताउँछन् । 

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरले बनाएका कार्यदलमा सकारात्मक परिणामउन्मुख भएको एमालेतर्फका कार्यदल संयोजक सुवास नेम्वाङको भनाइ छ । कार्यदलमै बसेर काम गरिरहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई भने सकारात्मक भए पनि वार्ता भने जारी रहेको बताउँछन् । 

प्रकाशित मिति: : 2021-03-15 19:14:00

प्रतिकृया दिनुहोस्