जुम्लादेखि सुर्खेतसम्म ट्रयाक्टरमा सरर...

एसएलसी दिएर बसेको दुई महिना भइसकेको थियो। दाइले मलाई चाँडो काठमाडौं पठाउनुपर्‍यो भनेर बारम्बार खबर पठाई रहनुभएको थियो।

जेठको महिना जुम्लातिर कामको निकै चटारो हुन्छ। पहिलो हप्तामा जौ काटेर लगत्तै रोपाईं गरिहाल्छन्। जौ काट्न पनि जति बेला मन लाग्छ, त्यति बेला पाइँदैन। सबै गाउँलेको  सल्लाहमा एउटा निश्चित दिनमा मात्र पाइन्छ। हाम्रोमा तीन दिनमा जौ काटेर घरमा थन्काउने काम भयो।

२०६४ जेष्ठ १३ गते यात्रा गर्नलाई  राम्रो दिन थियो। सोही दिनमा म काठमाडौं हिड्ने सल्लाह भयो। मेरो बाबा ज्योतिष हुनाले हाम्रो घरको जो कोहिले पनि घरबाट बाहिर जाँदा अहिले पनि पात्रो र दिन हेराएर राम्रो दिनमा मात्र निस्किन पाइन्छ। म पनि काठमाडौं  चाँडै जानुपर्छ भनेर आतुर थिए। काठमाडौं चाढै पुगेर ब्रिज कोर्ष पढ्ने योजना थियो।

१२ गते बेलुकातिर आमा र हजुरआमाले दाजुलाई अन्नि (कोशेली) बनाउन थाल्नुभयो। अर्सा, लाडु (कसार), सेलरोटी लगायतका खाने कुराहरु र मेरा केही किताब अनि कपडा राखेर मेरो काठमाडौं लैजाने झोला तयार भयो। अन्नि हाल्दा हाल्दै हजुरआमा भक्कानिएर रुन थाल्नु भयो। पछि आमा, बाबा, म  सबै रुन थाल्यौँ।

कान्छो भाइ अलिक सानै थियो। म त्यति बेला इमान्दारिताका साथ आफ्नो पढाइसँगसँगै घरको सम्पूर्ण कामहरु गर्थे। आमा बाबालाई मैले गर्दा घरमा धेरै सहज थियो। स्कुल जानू अघि सधै जसो घाँस काट्ने, गाईभैँसी स्याहार्ने गर्थे। अलिक सक्ने भए पछि घरमा हली नै लगाएको याद छैन। आफैँ हलो जोत्थे।

मैले जुत्ता सिलाउन सिकेको थिए। बिग्रेको छाताको तारबाट जुत्ता सिलाउने आरा पनि आफैँ बनाउथे। रेडियोबाट पावर सकिएका ब्याट्रीहरु भेला पारेर गोबरमा डुबाएर बत्ती बाल्न सिकेको थिएँ। बाध्यताले मान्छेलाई धेरै कुरा सिकाउने रहेछ। भनिन्छ नि– 'आवश्यकता नै आविष्कार हो।'

म यो बेला दोश्रोपटक आफ्नो घर छोड्दै थिएँ। पहिले आठ कक्षामा हिउँद महिनामा ट्युसन पढ्न नेपालगञ्ज गएको थिएँ। त्यति बेला घरबाटै हिँडेर दैलेखसम्म चार दिनको यात्रा र दैलेखबाट नेपालगञ्जसम्म गाडीको यात्रा गरेको थिएँ।

अघिल्लो पटक घर छोड्दा कुनै तनाव थिएन। खुशीखुशी घर छोडेको थिए। किताबमा पढेका र चित्रमा देखेका कुराहरु जस्तै ठूलो सहर, मोटरगाडी, साइकल, टिभी आदि हेर्न पाइने भो भन्ने कुरामा दङ्ग थिएँ। यो पटक भने घर छोड्ने कुराले मन भारी थियो। रातैभरि छट्पटी भएको थियो। निदाउन खोज्दा निद्रै परेको थिएन। एकछिन निदाउँदा सपनामै रोइरहेको रहेछु।

१३ गते बिहान घर छोड्ने दिन थियो। म बिहानै उठेर 'फ्रेस' भएर खाना खान थाले। हजुरआमा र आमाले टीका लगाइदिनुभयो। आमा र हजुरआमा रुँदै हुनुहुन्थ्यो। छरछिमेकीहरु पनि काठमाडौं जाने भनेपछि आन्छ हाल्ने (कोशेली) दिने चलन हुन्छ।

आफन्तहरुका बिदाईका हातहरु हल्लिरहदा मेरा आँखाबाट आँसु झर्न थाले। मेरा गोडाहरुले मेरो घरको ओटालो (आँगन) छोड्नै मानेका थिएनन्।

फर्केर हेर्दा कोही हात हल्लाउँदै त कोही ताल फर्काउदै (रुमाल हल्लाउँदै) थिए। हरकोहीसँग मिसाजिलो म सबैको आँखाको नानी थिए। यात्राभरि सम्झनाका भारीहरु खोतल्दै मनको आयातनलाई फराकिलो पार्दै, घडीको सुईझैँ समयको यात्रासँगै यात्रा गर्नुको विकल्प थिएन मसँग। अब बिस्तारै–बिस्तारै म हुर्के बढेको मेरो गाउँ, मेरो घर मेरा आफन्तहरु, मेरा साथीभाइ, मेरा प्रिय सामानहरु सबै कुरा मबाट टाढा–टाढा हुँदै गएका थिए।

बाबा मलाई पुर्‍याउन भनेर मसँगै जानू भएको थियो। बाबा र म बाटैभरि अनेकौं गफ गर्दै मेरो भविष्यको चिन्ता र परिकल्पनामा हिँडिरहेका थियौँ। बाबाले मलाई जिन्दगीबारे धेरै कुरा सिकाउनुभयो। आफ्नो विगतको कहानीहरु सुनाउदै ऊ बेलामा हटौरु (यात्री) हरुसँग हाट (शहर) जाँदा ढुङ्गाको ओडारहरु (गुफा) मा बास बसेका, खाना खाएका, डाँकाहरुले भारी चोरेका कुराहरु मलाई रमाइलो लाग्दै थिए।

बाबाले एकपटक खाना खाइसकेपछि बचेको १ कुकर जति  खाना फ्याक्नु नहुने भएर साथीहरुसँग बाजी खेल्नुभएछ। बाजीमा एकबट्टा घिउसँग खान दिए सकाउने शर्त तेर्साउनुभएछ। पछि भात र घिउ सबै सकाउनुभएको रे !

बाबा र म दिनैभरि हिँडिसकेपछि बेलुका पाँच बजे नाग्मबजार पुग्यौँ। हाम्रो त्यो दिन त्यतै बस्ने योजना थियो। बेलुकातिर जुम्लाबजारबाट आउँदैगरेको एउटा ट्याक्टर भेटियो।

नाग्म बजार अहिलेको जस्तो थिएन। एकाध टहराजस्ता होटेलहरु मात्र थिए। कर्णाली राजमार्ग त्यति बेला निकै जीर्ण थियो। सुरुवाती चरणमा कर्णाली राजमार्गमा कैयौं कर्णाली बासीले  आफ्नो जीवनको आहुति दिएका छन्।

त्यतिबेला भर्खरै खोलेको ट्रयाकमा ट्याक्टर मात्र चल्थे। ट्याक्टरको ड्राइभरसँग कुरा गर्दै जाँदा बाबाले चिनेको मान्छेको ट्याक्टर परेछ। बाबा मलाई ट्याक्टरमा चढाएर आफू नाग्ममै बसेर भोलिपल्ट घर फर्किनु हुनेभो।

ड्राइभर, एउटा सहचालक भाइसँग म त्यो नाइट ट्याक्टरको एक्लौ यात्री थिए। केही बेरमा सुनसान सडकमा खाली ट्याक्टरले आफ्नो गति लिन थाल्यो। एकैछिनमा अध्याँरो सुरु भयो। ठूलाठूला ढुङ्गा भएको बाटोमा ट्याक्टर खाली भएको हुनाले निकै उफ्रिन थाल्यो।

मैले छेउको रडहरुमा मज्जाले समातेको थिए। बेला–बेलामा माथिको रडमा टाउको ठोक्किन थाल्यो। जति जोगाउदा पनि टाउको ठोकिन थालेपछि ड्राइभरलाई भनेर पछाडि ट्रलीमा जाने निधो गरेँ। ट्रलीमा अगाडिको भन्दा अलि ठीक थियो। ट्रलीमा बस्न मिल्ने  ठाउँ चाहिँ थिएन। खाली ट्रलीमा मेरो साथी भनेको छेउमा म जत्रै यौटा तेलको ड्रम र ट्याक्टर ढुङ्गामा ठोक्किदा आउने ठूल्ठूलो आवाजहरु मात्र थिए।

रातको ८ बजे बालिघाटमा खाना खान रोकियौँ। म खाना खान ओर्लिएँ। साहुनीले मासु खाने कि भनेर सोध्नुभो। मैले मासु खाँदा पैसा धेरै खर्च हुन्छ होला भन्ने पीरले सादा खाना खान्छु भने। खान पनि खास्सै खान मन लागेन।

घरको मिठो खानाको याद आयो। हजुर आमाले मायाले पस्केर दिनुभएको याद आयो। खाना खाँदै गर्दा कति बेला प्लेटमा आँशु चुहिएछ, पत्तो भएन। कसैले नदेखुन् भनेर त्यसै आँशु लुकाएँ।

खाना खानेबित्तिकै हिँडिहाल्ने कुरो भयो। भीरैभीरको कालिकोट जताततै ठूला–ठूला चट्टानहरुमा उफ्रिँदै–उफ्रिँदै यात्रा गरिरहेका थियौँ। अहिले म बेला–बेलामा त्यो बाटोमा यात्रा गर्दा सम्झिन्छु । त्यो बेला रातिको यात्रा गरेर ठीकै गरिएछ, दिउँसो भए कति डर लाग्थ्यो होला।

दायाँबायाँ केही पनि देखिँदैन थियो। बेला–बेलामा एकाध घरहरु मात्र देखिन्थे। त्यति बेला राजमार्गवरपर अहिलेको जस्तो ठाउँ–ठाउँमा बजारहरु थिएनन्। मनभरि अनेकौँ कुरा खेल्दै थिए।

घरको यादले बेला–बेलामा रोइरहेको थिएँ। त्यतिबेला त आँशु देख्ने पनि कोही थिएन। चिसो निकै थियो। मलाई आफ्नो ओछ्यानको, त्यो मिठो निद्राको कल्पना गर्नुको अर्को विकल्प थिएन।

सायद रातको १२ बजेतिर होला कालिकोटको मान्म बजारमा पुगिएछ। राति त्यतैको कुनै होटेलमा सुत्ने कुरा भयो। होटेल पनि गोठ जस्तै थियो। कपडाहरु पूरै गन्हाइरहेका थिए।

ड्राइभर साहुजी–साहुनीसँग गफ गर्दै थिए। म दिनभरिको हिँडाइको थकान र त्यसपछिको ट्याक्टरको थकानले कति बेला निदाएँछु । पत्तै भएन।

बिहान पाँचै बजे ड्राइभर दाइले उठाइहाल्नु भो। निद्रा नपुगेर र धुलोले होला आँखा निकै पाेलिरहेको थियो। म आफ्नो आँखा मिच्दै झोला समातेर पुन: ट्रलीमै उक्लिए। मसँग अगाडीको सीटमा बस्ने हिम्मत नै थिएन।

त्यो बेला दैलेखको खिड्कि ज्युला सम्म बस आउथ्यो। ड्राइभरले गार्‍हो भएको छ भने बसमा जान सुझाए। मलाई पैसा खर्च हुन्छ भन्ने डरले जतिसुकै दुख भएपनि ट्याक्टरमै सुर्खेतसम्म जाने सोच आयो।

त्यो दिन दिउसो बेस्सरी पानी पर्‍यो। ट्याक्टरमा त्रिपाल हरु केही पनि रहेनछ। ट्याक्टरले धेरै उफारेर होला कतिबेला मेरो झोलाको चेन बिग्रिसकेछ। आमाले त्यत्रो दु:ख गरेर बनाएको खाने कुराहरु सबै पानिले बगाइदियो।

चिसोले मेरो शरीर पूरै कठ्याङ्ग्रिएको थियो। मेरा हातहरुले अगाडिको रडसम्म समात्न सकेका थिएनन्। म त्यही तेलको ड्रमलाई अँगालेर थचक्कै बस्न पुगेँ।

मेरो आमा अलिक बाठो हुनुहुन्छ। मैले पैसा खसाउछ या बाटोमा कसैले चोरिदिन्छ भनेर चार हजार रुपैंयाँ कागजमा पोको पारेर एउटा कपडामा बेरेर मेरो ढाडमा बाँधिदिनुभएको थियो। 'काठमाडौं नपुगिन्जेल बाँधिराख्नू' भनेर सुझाउनुभएको थियो।

पकेट खर्च र गाडीमा लाग्ने खर्च भने गोजीमा थियो। ढाडमा बाँधेको पैसाबाहेक सबै कुरा भिज्यो। हाम्रो त्यो दिन बेलुकासम्म सुर्खेत पुग्ने सपना पानीले चकनाचुर बनाइदियो। हामी त्यो दिन तल्लो डुङ्गेश्वरसम्म मात्र पुग्यौं।

दोश्रो दिनको रातको खासै केही पनि याद छैन। तेस्रो तिन दिउँसो ११/१२ बजेतिर सुर्खेत पुगेको सम्झना छ। सुर्खेत पुग्दा भने म हिँड्नै नसक्ने भइसकेको रहेछु। खुट्टा खोच्चिदै थियो।

तीन दिनको धुलो र पानीले मेरो कपडा हेर्नलायकको थिएन। हात पूरै सुन्निएको थियो। खुट्टा टेक्नै नमिल्ने गरेर दुखिरहेको थियो। शरीरको हरेक पार्टहरु दुखिरहेको थियो।

ड्राइभर दाइले मलाई सुर्खेतबाट काठमाडौं जाने बसको काउन्टर देखाइदिएर आफू नेपालगञ्जतिर लाग्नुभो।

म खोच्चिदै खोच्चिदै बसको काउन्टरतिर काठमाडौं जाने बस सोध्न गएँ। बस चार बजे छुट्ने रहेछ। टिकट काट्ने मान्छेले के भएर यस्तो भएको ?' भनेर सोधे।

उनको अनुमान मिल्यो सायद्। तर, म त्योबेला पनि अलिक चलाख नै थिए। गाडीमा छुट हुन्छ सुनेको थिए। मलाई पनि छुट गर्छ कि सोचेर 'जन्मजात यस्तै हो' भनेर गफ लगाइदिएँ । तर, ऊ पनि के कम ! मलाई अपाङ्गताको कार्ड देखाउन भन्यो। मसँग त कार्ड थिएन।

पछि विद्यार्थी कार्ड देखाएर छुट माग्न कत्ति गुहार गर्दा ५० रुपैयाँ छुट पाए। पूरा भाडा पाँच सय रुपैयाँ रहेछ। मैले मलाई वान्ता हुने हुनाले अगाडिको सीट मिलाइदिन भने।

टिकटवालाले बनोटवाला सीट, ड्राइभरको छेउको खाली छ भन्यो। सबै हेर्दै जान पाइन्छ। मज्जाले सुत्न पाइन्छ भन्यो। म पनि पछाडि वान्ता हुने डर र फेरि सुतेरै जान पाइने  हुनाले मख्ख परेर 'हुन्छ काटिदिनुस्' भने।

तीन–चार घण्टा बाँकी थियो, गाडी छुट्न। म गाडीले छोडेर जान्छ कि भन्ने डरले यता उता कतै पनि गइनँ। निकै प्यास र भोक लागेको हुनाले छेउको एउटा होटेलमा गए। सुरुमा पानी मागे। साहुजीले बोतलको पानी दिनुभयो। मलाई थाह नै थिएन– त्यो बोतलको पानी पियो भने पैसा तर्नुपर्छ भनेर। पछि पैसा माग्दा पो थाह भयो त– यो सहरमा पानी पैसा तिरेर पिउन पाइने रहेछ। त्यसलाई त 'मिनरल वाटर' भन्दा रहेछन्।

म त मेरो घरअगाडिको निरन्तर बग्ने कर्णाली नदी हेरेर पौडी खेल्दै हुर्केको मान्छे, अनि २४सै घण्टा निरन्तर बगिरहने घर अगडिको धारामा मुख डुबाएर पानीको प्यास मेटेको सम्झना आयो । सबैभन्दा बढी 'पानी मागे दूध दिन्छन्' भन्ने उखान याद आयो। याद आएर पनि के गर्नु, मैले पानी खाएँ। साहुजीले मेरा रुपियाँ खाए।

४ बज्दै गर्दा गाडीले हर्न बजाउन थाल्यो। म खोच्चिदै गाडीतिर उक्लिएँ। मलाई लाग्यो अब त आरामले अडेस लागेर सुत्न पाइन्छ होला।  बिडम्बना बनोटको सीट भनेको त ड्राइभरको देब्रे तिरको फराकिलो भाग रहेछ, जहाँ बिच्चमा एक्सिलेटर र कतै अडेससम्म लाग्न नमिल्ने हुँदो रहेछ। त्यसमा पनि म एकजना भए त ठिकै हो, ३/४ जनालाई राखेको रहेछ।

म राम्रो अडेस लाग्न मिल्ने सीट मिलाई दिने कुरामा बिलौना गर्न थालेँ। मलाई त्यतिबेला जुम्लाको खस भाषाबाहेक चलनचल्तिको नेपाली खासै राम्रो बोल्न आउँदैनथ्यो। मैले बोलेको कसैले बुझेनन् जस्तो लाग्यो। ड्राइभर र कन्डक्टरले उल्टै 'नजाने भए पैसासैसा फिर्ता हुँदैन, गाडीबाट झर' भन्न थाले।

अलिक पर नपुग्दै मलाई वान्ता हुन थाल्यो। तीन दिनदेखि राम्रोसँग नखाएको भएर होला पेट पूरै बटारियो। एकदम गार्‍हो भयो। छेउमा बसेको एक जना दाइलाई मेरो निकै माया लागेछ। आफू बसिरहेको सीटमा मलाई बसाएर आफू मेरो सीटमा आउनुभयो।

एक जना आन्टीले ल्वाङ, सुकमेल, पानी दिनुभयो। बिस्तारै अलिक आनन्द भयो। साहुजीले पानीको पैसा लिए पनि आन्टीले फ्रिमा दिनुभयो। नमागेको बेला आफैँ दिएको पानी मलाई दूध जस्तै लाग्यो। आन्टीको मुहारमा आमाको प्रतिबिम्ब देखे। मन प्रफुल्ल भयो।

वान्ता हुन छोडेपछि म वरिपरिको मान्छेसँग गफिन थाले। उनीहरुलाई पनि मेरो गफ सुन्न साह्रै रमाइलो लागेछ। उनीहरु गलल हाँस्दै मलाई उडाइरहेका थिए। म उडिरहेको थिएँ।

म रातभरिको यात्रामा काठमाडौंको बारेमा अनेकौं कल्पनाहरु गर्न थाले। छेउका मान्छेलाई नि सोध्थेँ– काठमाडौं कस्तो छ भनेर। मनमनै अनेकौं ठाउँहरुमा घुम्ने प्लान बनाए।

सुरुमा चिडियाखाना जान्छु भन्ने सोचेँ। त्यहाँ त बाघ, भालु, हात्ती हुन्छन् भन्ने सुनेको थिएँ। अनि धरहरा चढ्ने योजना बनाए। धरहराबाट त पूरै काठमाडौं देखन्छ भन्ने सुनेको थिएँ। त्यस्तै प्रिय राजा वीरेन्द्र बसेको राजदरबार, न्युरोड, रत्नपार्क, पशुपतिनाथ मन्दिर र स्वयम्भू सबै घुम्ने योजना बनाउँदै थिएँ।

सोच्दै थिएँ– काठमाडौंमा घरहरु कस्ता हुन्छन् होला? त्यहाँका मान्छे कस्ता हुन्छन् होला? के उनीहरु पनि मैलेजस्तै खाना खान्छन् होला? मैले जस्तै कपडा लगाउँछन् होला? त्यहाँका स्कुलहरु पनि मैले पढेका स्कुल जस्तै त हुन्छ होला? पढाउने सर मिसहरु मलाई पढाउने जस्तै हुन्छ होला?
जस्ता अनेकन् प्रश्नहरु सोच्दासोच्दै कति बेला निदाएछु पत्तै भएन।

सहचालक भाइले कोट्याउदै 'दाई काठमाडौं त आयो त, लु झर्ने भनेको होइन, झर्नुस् झर्नुस्' भन्दा म झसङ्ग भए। एकैछिनमा मलाई कलङ्की चोकमा झारिदिएर गाडी कता गयो, थाहै भएन।

(लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक हुन्।)

प्रकाशित मिति: : 2021-03-15 15:13:00

प्रतिकृया दिनुहोस्