विवादरहित बक्सरको निधन

पूर्व मिडलवेट च्याम्पियन तथा विवादरहित बक्सर मार्भिन हेग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ।

अद्भूत बक्सरको उपाधि पाएका हेल्गरको निधनको जानकारी उनको श्रीमती काय जे हेल्गरले दिएकी हुन्।

उनले फेसबुकमा यो खबर पोस्ट गर्दै भनिन्, ‘म दुःखका साथ तपाईहरूलाई स्तब्ध पार्ने खबर सुनाइरहेको छु। आज दुर्भाग्यवस मेरो प्रिय अद्भुत मार्भिनले न्यु हेम्सायरस्थित आफ्नो घरबाट अप्रत्यासित रूपमा विदा लिएका छन्।’

हेल्गर सन् १९८० मा विवादरहित मिडलवेट च्याम्पियन बनेका थिए। उनले १९८५ मा टोमी हर्नसविरूद्ध तीन राउण्डको कडा प्रतिस्पर्धामा उपाधि रक्षा गरेका थिए। यो भिडन्तलाई अहिले पनि ‘युद्ध’ को संज्ञा दिने गरिन्छ।

उनले आफ्नो बक्सिङ करिअरमा १२ वटा उपाधि जितेका थिए। १९८७ मा विवादास्पद भिडन्तमा रे लिओनार्ड ‘सुगर’ सँग १२ राउण्ड लामो भिडन्तमा पराजित भएको अर्को वर्ष नै उनले बक्सिङ खेलबाट सन्यास लिए।

यो लगत्तै इटालीमा आफ्नो बसाइँ सारेका मार्भिनले एक्सन फिल्ममा काम गरे। व्यवसायिक बक्सिङमा उनले ६२ जित, २ बराबरी तथा ३ मा पराजय भोगेका थिए।

यसमा पनि ५२ भिडन्त उनले नकआउटको आधारमा जितेका थिए। सन् १९९३ मा उनलाई अन्तर्राष्ट्रिय बक्सिङको ‘हल अफ फेम’ बाट सम्मान गरिएको थियो।

हेल्गरको निधनले बक्सिङ क्षेत्रमा ठूलो क्षति पुगेको छ। पूर्व च्याम्पियन ओस्कार डे ला होयाले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-03-14 16:53:00

प्रतिकृया दिनुहोस्