सभापतिको भाषण अर्कैले गर्नु परेपछि...

बाह्रखरी

काठमाडाैं

जगत नेपाल

सन् १९४० को दशकको कुरा हो । भारतबाट अंग्रेज फर्किने निश्चित प्रायः भइसकेको थियो । तिनैताका बीपीले नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको तयारी तीव्र बनाएका थिए । भारत स्वतन्त्र नहुदाँसम्म नेपालबाट राणाशासन समाप्त पार्न सकिँदैन भन्ने उनको बुझाइ थियो ।

राणाविरोधी संगठन बनाएर आन्दोलनलाई गति दिन लागि परेका गणेशमान सिंह पनि जेल तोडेर भारत पुगेका थिए । देशको पहिलो राजनीतिक दल प्रजापरिषद्का सदस्य सिंह बीपीसँगै राष्ट्रिय कांग्रेस स्थापनामा सक्रिय थिए । तिनै ताकाको कुरा हो, एक दिन तारिणीप्रसाद कोइरालाले बीपी र गणेशमानलाई भने, ‘‘प्रजातान्त्रिक पार्टी गठन भए राणाविरुद्ध मजदुरहरुको संगठित आन्दोलन सुरु गर्न सकिन्छ ।’’ यस प्रसंगमा गणेशमान सिंहले आफ्नो पुस्तक ‘मेरो कथाका पानहरु’मा भनेका छन्, ‘‘पार्टी गठन पूर्व नै हामीले विराटनगरका मिलहरुमा कार्यरत मजदुरहरुलाई संगठित गर्ने र राणाविरोधी आन्दोलनको जग बनाउने योजना बनाइसकेका थियौँ ।’’

नेपालमा कतै उद्योगधन्दा नभएको समयमा राणा प्रधानमन्त्री जुद्धशमशेरले १६ लाखको लगानीमा विराटनगरमा एउटा जुट मिल स्थापना गरेका थिए, वि.सं. १९९३ मा । सुरुमा दुई सय तानबाट थालिएको मिलमा १५८ तान थपेर ३५८ पुर्‍याइएको थियो ।

 

प्रकाशित मिति: : 2021-03-14 11:21:00

प्रतिकृया दिनुहोस्