आजदेखि फाइनप्रिन्ट फिभर

पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ।

हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ। कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ। साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन्।

कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गर्ने जनाइएको छ। कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्।

विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताए।

कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ। चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सहभागिताका लागि शुल्क नलाग्ने उनले बताए। कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको भण्डारीको भनाइ छ। रासस

 

प्रकाशित मिति: : 2021-03-12 06:50:00

प्रतिकृया दिनुहोस्